मेचीनगर, असोज २१ । नेपालकै ठुलो सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आइतबार (आज) देखि २७ औँ वार्षिक साधारणसभाको इकाइगत साधारणसभा सुरु गरेको छ ।
साकोसको विभिन्न सेवाकेन्द्रमा सुरु भएको साधारणसभा असोज २७ गतेसम्म सञ्चालन हुनेछ । संस्थाले छवटा जिल्लामा हुने इकाइगत साधारणसभाबाट ३१ जना प्रतिनिधि छनोट गरेर आगामी कात्तिक १८ गते अन्तिम माइन्युट प्रमाणीकरण गर्ने बताइएको छ ।
इकाइगत साधारणसभाअन्तर्गत पाँचथरबाट एकजना, उदयपुरबाट एकजना, इलामबाट दुईजना, सुनसरीबाट चारजना, मोरङबाट छजना र झापाबाट १७ जना प्रतिनिधि छनोट हुने जनाइएको छ ।
यसैबीच, आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्ममा १ लाख ५७ हजार ६०६ शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी १ अर्ब ६३ करोड १४ लाख ५२ हजार १०० रुपैयाँ रहेको छ ।
संस्थाले यस आर्थिक वर्षमा २ अर्ब २१ करोड २४ लाख ४० हजार १४० रुपैयाँ आम्दानी गरेर र १ अर्ब ८१ करोड ३७ लाख ४३ हजार ५६१ रुपैयाँ खर्च गरेर खुद नाफा ३९ करोड ८६ लाख ९६ हजार ५७९ रुपैयाँ गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच, संस्थाले सामाजिक सुरक्षा नियमित कार्यक्रमअन्तर्गतको रकम चाडबाडलाई मध्यनजर गर्दै इकाइगत साधारणसभाबाट वितरण गर्ने जनाइएको छ ।
सामाजिक सुरक्षा नियमित कार्यक्रमअन्तर्गत चाडपर्वलाई मध्यनजर गर्दै यस वर्ष एक हजार २४२ जनालाई रकम वितरण गर्ने भएको छ ।
संस्थाले २७ औँ वार्षिक साधारणसभाका अवसरमा सामाजिक सुरक्षा नियमित कार्यक्रमअन्तर्गत १ करोड १६ लाख ६६ हजार रुपैयाँ वितरण गर्ने भएको प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले जानकारी दिए ।
कार्यकारी प्रमुख गिरीका अनुसार ८१५ जना एकल महिलालाई जनही ८ हजारका दरले ६५ लाख २० हजार, पोषण भत्ताअन्तर्गत ६५ वर्षमाथिका २४३ जनालाई जनही ६ हजारका दरले १४ लाख ४८ हजार, ज्येष्ठ नागरिक सम्मानअन्तर्गत ७० वर्षमाथिका १२८ जनालाई जनही ८ हजारका दरले १० लाख २४ हजार, वृद्धवृद्धा सम्मानअन्तर्गत ८१ वर्ष माथिका १० जनालाई जनही १० हजारका दरले १ लाख रुपैयाँ वितरण गरिनेछ ।
त्यस्तै, दीर्घायु भत्ता ८६ वर्ष माथिका पाँचजनालाई जनही २५ हजारका दरले १ लाख २५ हजार, एकल पुरुष ५८ वर्षमाथिका १४ जनालाई जनही ६ हजारका दरले ८४ हजार, असक्त तथा अपाङ्ग भत्ता १२ जनालाई जनही १० हजारका दरले १ लाख २० हजार र परिवार राहतअन्तर्गत १५ जनालाई २२ लाख ३५ हजार रुपैयाँ वितरण गरिने प्रमुख कार्यकारी गिरीले बताए ।
झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुर जिल्लासहित छवटा जिल्लाका ८० वटा सेवाकेन्द्रमार्फत सेवा प्रदान गर्दै आएको सहारा नेपाल साकोसले प्रत्येक वर्ष सामाजिक सुरक्षाअन्तर्गत सदस्यहरुलाई रकम वितरण गर्दै आएको छ ।