
बिर्तामोड, असोज २९ । झापा आउँदै गरेको माइक्रोबस उदयपुरमा दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन् ।
आज दिउँसो १ः४० बजे काठमाडौँबाट यात्रु लिएर झापा आउँदै गरेको बाग्मती प्रदेश ०१–००४ क २०७६ नम्बरको गाडी उदयपुरगढी–७ अधेरीमा दुर्घटना भएको थियो ।

गाडी कुदिरहेको बेला पछाडिको बायाँ टायर खुस्केर रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चालक र एक यात्रुको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिन्दन चौधरीले जानकारी दिए ।

दुर्घटनामा झापा, इलाम लगायतका जिल्लाका यात्रु रहेका छन् । झापा शिवसताक्षीका ३० वर्षीय निर्देश भट्टराई, निर्देशकी बहिनी १४ वर्षीष निकिता भट्टराई, मेचीनगर– १० धुलाबारीकी ३९ वर्षीया भारती कार्की, २७ वर्षीया अञ्जु पोखरेल र कनकाई–४ का ३४ वर्षीय प्रनिश श्रेष्ठ घाइते भएका छन् ।
अन्य घाइते इलाम सूर्योदय–९ का ४० वर्षीया रेणुका गौतम, रेणुकाका छोरा १५ वर्षीय अनुपम आचार्य, पाँचथर फिदिम–६ का ७२ वर्षीय बलवीर विक छन् ।