२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

प्यारीभिट्टा बसपार्कः निर्माण भएको १० वर्षपछि दोस्रोपटक सञ्चालनको तयारी


मेचीनगर, असोज ३० । निर्माण सम्पन्न भएको १० वर्षपछि झापाको मेचीनगरमा रहेको प्यारीभिट्टा बसपार्कको आज दोस्रोपटक उद्घाटन गरिएको छ । उद्घाटनसँगै बसपार्क सञ्चालनमा आउने विश्वास गरिएको छ ।

नेपालको पूर्वीनाका काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्याराभिट्टामा निर्माण भएको पूर्वाधारयुक्त बसपार्क १० वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको थिएन ।

बसपार्कको एक औपचारिक कार्यक्रमका बीच नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सञ्चालनमा आएको उद्घोष गरे । कार्यक्रममा पूर्व नगरप्रमुख विमल आचार्य, नगरक्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

यसअघि आचार्यको कार्यकालमा पनि २०७४ सालमा पनि बसपार्कको उद्घाटन भएर सञ्चालनमा आउने बताइएको थियो । तर, केही समयमै बसपार्क सुनसान भयो । बिस्तारै गाईवस्तु आराम गर्ने ठाउँ बन्यो । बसपार्क प्रयोगविहीन भयो ।

मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट तीन करोड ३६ लाख २८ हजार र नगर विकास कोषको ऋणबाट सात करोड ७७ लाख ७२ हजार रुपैयाँ जुटाएर संयुक्त लगानीमा प्यारीभिट्टा बसपार्क निर्माण गरेको थियो ।

बसपार्क बनाउन स्थानीय शिवकुमार थापा, ध्रुव शिवाकोटी लगायत १२ जनाले करौडौँ मूल्य बराबरको पाँच बिघा चार कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेका थिए ।

२०६८ असार १९ गतेबाट निर्माण कार्य थालनी गरिएको थियो । दुई वर्षपछि निर्माण सम्पन्न सो बसपार्कको औपचारिक उद्घाटन भने २०७४ भदौ १५ गते मेचीनगर नगरप्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रविन कोइरालाले संयुक्त रुपमा तामझामका साथ गरेका थिए ।

निर्माण भएको चार वर्षपछि उद्घाटन भएको बसपार्क १० वर्षपछि आज फेरि सञ्चालनमा ल्याइने भएको हो । सोबेला केही महिना चलाउने प्रयास गरियो । बसपार्कमा बसहरुलाई पार्किङ गर्न आग्रह गरियो भने त्यहाँ रहेका गाडी ग्यारेज र व्यापारिक पसलहरु भाडामा लगाइएका थिए ।

तर, बसपार्कमा पार्किङका लागि बसहरु जान छाडे । भाडामा ग्यारेज (सर्भिस सेन्टर) लिएकाहरु पनि पलायन भए । पसलहरु सुनसान भए । बसपार्कमा फेरि सन्नाटा छायो ।

सुरक्षा बन्दोबस्तका लागि आवास भवनसहितको प्रहरी पोस्ट पनि बसपार्कमा निर्माण गरिएको छ । रात्रिकालीन उज्यालोका लागि विद्युत र सौर्य बत्तीको पर्याप्त व्यवस्था मिलाइएको छ ।

राजमार्गबाट बसपार्क जोड्ने पहुँचमार्गलाई कालोपत्रे गरिएको छ । खानेपानी र शौचालयका लागि भौतिक संरचना बनाइएका छन् । बसपार्कमा एकैपटक दुई सयवटा बसले पार्किङ गर्न सक्छन् ।

सञ्चालनमा नआउँदा घरपालुवा पशुको बासस्थान बनेको बसपार्क ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer