२०८२ बैशाख १२ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापाबाट नेपाली नक्कली हजारका नोटसहित छजना भारतीय पक्राउ


बिर्तामोड, कात्तिक १८ । नेपाली एक हजारको नक्कली नोटसहित ६ जना भारतीय नागरिक झापामा पक्राउ परेका छन् ।

भारत बिहार राज्य किसनगञ्ज जिल्लाका २४ वर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पुर्णिया जिल्लाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार झापा गाउँपालिका १ स्थित सीतापुरीमा भारतीय नम्बर प्लट भएका दुईवटा मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा आलमको साथबाट एक हजार दरको तीन थान नेपाली नक्कली नोट बरामद गरेको थियो ।

नक्कली नोटसहित पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डिएसपी रिजालले बताए ।

भारतबाट नेपाली नक्कली नोट ल्याइएको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घटनामा संलग्न भएका व्यक्तिलाई कानुन बमोजिम कारबाही हुने उनले जानकारी दिए ।

Adv footer