२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

१९ अर्ब रुपैयाँको वासलात बनाउने सहारा साकोसको लक्ष्य


बिर्तामोड, कात्तिक १८ । नेपालकै ठुलो र सफल सहकारी बिर्तामोडको सहारा नेपाल साकोसले यो आर्थिक वर्षभित्र १९ अर्ब रुपैयाँको वासलात बनाउने लक्ष्य राखेको छ ।

संस्थाको २७ औँ वार्षिक साधारणसभामा जारी गरिएको विज्ञप्तिअनुसार हाल रहेको १५ अर्ब ४८ करोड २९ लाख रुपैयाँको वासलात बढाएर १९ अर्ब पुर्याउने प्रक्षेपण गरिएको हो ।

त्यस्तै, संस्थाले यस आर्थिक वर्षभित्र १० सेवाकेन्द्र थप गरी ९० सेवा केन्द्र, ४३ हजार शेयर सदस्य थप गर्ने लक्ष्य लिएको छ । कर तिरेर ३९ करोड नाफा गरेको संस्थाले यो वर्ष ६२ करोड नाफा कमाउने उद्देश्य लिएको छ ।

संस्थामा २०८० असार मसान्तसम्म १ लाख ५७ हजार ६०६ जना शेयर सदस्य रहेका छन् भने शेयर पुँजी एक अर्ब ६३ करोड १४ लाख रहेको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, संस्थाको जगेडाकोष १ अर्ब २३ करोड, अन्य कोष ३७ करोड ९६ लाख, बचत १० अर्व ९५ करोड ४९ लाख, लगानीमा रहिरहेको ऋण ११ अर्ब २० करोड ५५ लाख, भौतिक सम्पति ५० करोड ७५ लाख र बाह्य ऋण ५७ करोड २८ लाख रहेको छ ।

हालको जटिल परिस्थितिमा पनि संस्थाले यस वर्ष ३९ करोड ८६ लाख खुद मुनाफा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

सहारासँग हालसम्म एकीकरण भएका सातवटा सहकारी संस्थाहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सभामुख देवराज घिमिरे, सम्मानित व्यक्तित्व कैलाशभक्त प्रधानांग, कोशी प्रदेशका सहकारी रजिस्ट्रार हरिबहादुर खत्री, साकोसका सल्लाहकार केशवप्रसाद ओझा, नेफ्स्कुनका केन्द्रीय सञ्चालक सदस्य घनश्याम अधिकारी, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले स्वागत गरेका थिए ।

प्रधानांग र न्यौपाने पुरस्कृत

संस्थाले एक लाख एक हजार नगद राशिको ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ सहकारी विज्ञ कैलाशभक्त प्रधानांगलाई प्रदान गरेको छ ।
पुरस्कार हरेक दुई वर्षमा सहाराले प्रदान गर्दै आएको छ । यसअघि लघुवित्त विज्ञ शंकरमान श्रेष्ठ र सहकारी अभियन्ता केशव बडाल उक्त पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

त्यस्तै, ‘सहारा पत्रकारिता पुरस्कार’ बाट एभिन्युज टेलिभिजनका झापा सम्वाददाता सन्तोष न्यौपाने सम्मानित भएका छन् । उनले २५ हजार राशिको पुरस्कार प्राप्त गरेका छन् ।

Adv footer