
बिर्तामोड, कात्तिक २२ । झापा प्रहरीले बिर्तामोडबाट प्रतिबन्धित लागुऔषधसहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।


बिर्तामोड ८ गरामनीस्थित भद्रपुर–बिर्तामोड सडक खण्डमा मोटरसाइकल दुर्घटना भई प्रहरीले बुझ्दा मोटरसाइकल चालक बिर्तामोड–२ का २५ वर्षीय प्रतिक राई चोट नलागेको र नसालु पदार्थ सेवन गरेको जस्तो देखिएको पाइएपछि प्रहरीले थप जाँच गरेको थियो ।



जाँचको क्रममा उनको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ३ ग्राम ४८० मिलिग्राम फेला पारी नियन्त्रणमा लिइएको झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।



राईले कुदाएको पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे. ३ प ६४०३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा अस्थाई प्रहरी चौकी गरामनीबाट प्रहरी टोली गएर बुझेको थियो ।


त्यस्तै, अर्जुनधारा–११ नयाँ बसपार्कमा कोठा भाडा लिएर बस्ने भारत बिहारको अररिया जिल्ला बतनाहा भटयाही वडा नम्बर २२ घर बताउने अन्दाजी १९ वर्षीय प्रियन्सुकुमार मण्डल, जोगवनी खजुरबाडी वडा नम्बर १५ का १९ वर्षीय मोहम्मद लाल भन्ने साहिल सेख र २३ वर्षीय मोहम्मद काजिम आलमलाई पनि प्रहरी पक्राउ गरेको छ ।



उनीहरुले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्रयोग गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरुले बोक्ने कालो ब्यागभित्र लुकाएर राखेको ब्राउन सुगर १४ ग्राम ३२० मिलिग्राम फेला परेका थियो ।

उनीहरुको साथमा रहेको लागुऔषध बरामद गरी उक्त चारजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

