
बिर्तामोड, कात्तिक २९ । झापाको कमल गाउँपालिकामा भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।दुर्घटनामा मोरङको सुन्दरहरैँचा–५ बस्ने २४ वर्षीय मदन मगरको मृत्यु भएको हो ।
आज दिउँसो साढे ४ बजे कमल गाउँपालिका ३ स्थित सहिद गेटनजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को. २१ प ७७ नम्बतको मोटरसाइकल एक्कासि बाटोमा निस्किएको भैँसीसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा चालक मगर र मोटरसाइकलको पछाडि बसेका सुन्दरहरैँचा–५ बस्ने ३० वर्षीय अभिषेक चौधरी घाइते भएका थिए ।
उनीहरुलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा चिकित्सकले मगरलाई मृत घोषित गरेका थिए । चौधरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।