मेचीनगर, मंसिर १ । एम्बुलेन्स खरिदका लागि वडालाई दबाब दिने उद्देश्यले झापाको मेचीनगर–१५ ज्यामिरगढीका युवाहरुले व्यंग्यस्वरुप रकम प्रदान गरेका छन् ।
हाम्रो ज्यामिरगढी युवा समाजको अगुवाइमा शुक्रबार पाँच हजार रुपैयाँ वडा कार्यालयलाई प्रदान गरिएको समाजका संयोजक जयराम दाहालले जानकारी दिए ।
सर्वसाधारण बिरामी हुँदा अस्पतालसम्म पुर्याउन एम्बुलेन्स नहुँदा समस्या भइरहेकाले अभियानअन्तर्गत एक कार्यक्रमबीच समाजले रकम हस्तान्तरण गरेको हो ।
युवा समाजले तिहारमा स्थानीय ठाउँमा भाग्य चिठ्ठा रमाइलो मेला आयोजना गरेको थियो । मेलाबाट बचेको रकममध्ये पाँच हजार रुपैयाँ एम्बुलेन्स खरिदका लागि दबाबस्वरुप वा सहयोगार्थ भन्दै मेचीनगर–१५ का वडा अध्यक्ष गुणराज भट्टराईलाई प्रदान गरिएको हो ।
लामो समयदेखि वडा अध्यक्षले आउँछ भनिएको एम्बुलेन्स नआएपछि कार्यक्रममा ब्यानरमै कहिले आउँछ एम्बुलेन्स सेवा ? उल्लेख गरिएको थियो ।
प्रदान गरिएको रकम वडाको मातहतमा रहनेगरी काली मन्दिर पूजा तथा मेला समितिको खातामा जम्मा गरेको दाहालले जानकारी दिए ।
कार्यालयलाई पटकपटक मौखिक र लिखित रुपमा निवेदन गर्दै आएको समाजलाई वडा अध्यक्ष भट्टराईले एम्बुलेन्स आउँछ भन्दै आएका थिए । तर, वडा अध्यक्षले भनेअनुसार एम्बुलेन्स नआएपछि युवा समाजले दबाब अभियान सुरु गरेको सुरज पाहानले बताए ।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको स्वास्थ्यमा पर्ने आपतकालीन समस्यालाई सामाधान गर्न एम्बुलेन्स आवश्यक भएको ठहर गर्दै दबाब अभियान सञ्चालन गरेको हाम्रो ज्यामिरगढी युवाका सदस्य प्रकाश खड्काले बताए ।
Comments are closed