
बिर्तामोड, मंसिर ७ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज सानातन धर्मावलम्बीहरुले भगवान विष्णुको विशेष आराधना र तुलसीको विवाह गरी मनाउँदै छन् ।
सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान विष्णुसँगै विवाह गरिदिने परम्परा छ ।

एकादशीका दिन उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ । यसै दिन नवान्न (नयाँ अन्न) को हवन गर्ने परम्परा छ ।
आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ । त्यसैले, यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ ।

विष्णुको अर्को नाम हरि हो । शयन अर्थात् सुत्ने कार्य । बोधको अर्थ हुन्छ उठ्ने । यसैले यी दुई एकादशीको महत्व विशेष छ । यी दुई एकादशीलाई ‘ठुली एकादशी’ पनि भनिन्छ ।
अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान विष्णुको उपासना बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ । भगवान कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएका छन् ।
पञ्चांगहरूमा बिहीबार ३४ घडी ४१ पला अर्थात् बेलुकी ८ बजेर २४ मिनेटसम्म एकादशी रहेको उल्लेख छ ।
यसैबीच झापाको भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका र झापा गाउँपालिकाले आज स्थानीय बिदा दिएका छन् । कचनकवल गाउँपालिकाले भने भोलि बिदा दिएको छ ।
आदिवासी राजवंशी तथा अन्य बहुसंख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वको अवसरमा स्थानीय बिदा दिइएको हो ।