![](https://jhapatoday.com/wp-content/uploads/2023/11/alapatra.jpg)
बिर्तामोड, मंंसिर १३ । सर्तभन्दा फरक काम लगाएपछि झापाका तीनजना युवा युएईको दुबईमा बिचल्लीमा परेका छन् । उनीहरुलाई धुम्बाराहीस्थित सागर रिक्रुटमेन्ट प्रालिले दुबई पठाएको हो ।
गत असोज २८ गते दुबईस्थित जेबेल अलीमा पठाउँदा उनीहरुसँग मेनपावर कम्पनीले फ्रि भिसा, फ्रि टिकटको समेत धज्जी उडाउँदै १ लाख ७५ हजार रुपैयाँँ लिएको थियो ।
![](https://jhapatoday.com/wp-content/uploads/2023/11/shikharhos-1-1.jpg)
दुबईमा बिचल्लीमा पर्नेहरु भद्रपुरका अकबर अन्सारी, शिवसताक्षीका राजकुमार ताजपुरिया र महेश राजवंशी छन् । उनीहरुसँगै अरु नेपाली पनि अलपत्र परेको अन्सारीले बताए ।
म्यानपावर कम्पनीसँग गरेको सम्झौताअनुसार चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङमा फिनिसिङ कारपेन्टर (फर्निचरको काम) दिने भनिएको थियो । उक्त कामबापत मासिक तलब १ हजार १ सय २० दिरहम (करिब ४० हजार नेपाली रुपैयाँँ) दिने सर्त थियो ।
![](https://jhapatoday.com/wp-content/uploads/2023/11/manakamanaice.jpg)
दुबईको जेबेल अली पुगेपछि उनीहरूलाई भिन्न काममा लगाइयो । फिनिसिङ कार्पेन्टर भनेर दुबई लगिएकोमा त्यहाँको चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङले उनीहरूलाई बेल्चा हान्ने लेबरको काम लगायो । यसरी लेबरको काममा लगाएर उनीहरूलाई बिचल्लीमा पारियो ।
काम फरक परेको भन्दै उनीहरूले सागर म्यानपावरका प्रतिनिधिहरूलाई तत्काल जानकारी गराए । तर, उनीहरूले यस विषयमा खासै चासो देखाएनन् ।
१ लाख ७५ हजार ऋण काढेर श्रीमानलाई दुबई पठाएको अन्सारीकी पत्नी अफ्रुज खातुनले बताइन् । ‘काम भनेजस्तो नहुँदा ऋणको बोझले उहाँँको मानसिक सन्तुलन झन् बिग्रिँदै गएको छ’, उनले भनिन्, ‘करिब १५ दिन ओछ्यानमा थला पर्दा उहाँँ मृत्युसँग लडिरहनुभएको थियो । धन्न सँगै गएका साथीहरूले हेरचाहसँगै उपचार गराउँदा उहाँँ सकुशल हुनुहुन्छ ।’
श्रीमानलाई नेपाल झिकाउन उनी सबैतिर भौतारिरहेकी छन् । तर, उनको सुनुवाइ भएको छैन । ‘मलाई यहाँँबाट नेपाल फर्काइदिनु भन्दै श्रीमान्ले पनि रुँदै घरमा फोन गर्नुहुन्छ’, उनले भनिन् । म्यानपावरलाई श्रीमान् फर्काइदिन आग्रह गर्दा उल्टै २५०० दिरहम मागेको उनले दुःखेसो पोखिन् ।
‘म्यानपावरले हामीलाई ढाँट्दा दुबईको एउटा कोठामा बन्दीसरह बसिरहेका छौँ’, झापा शिवसताक्षी–५ का ताजपुरियाले भने, ‘म्यानपावरले सम्झौताअनुसार काममा लगाइदिनुप¥यो, कि हामीलाई सकुशल नेपाल फिर्ता पठाइदिनु प¥यो’, उनले भने ।