
बिर्तामोड, मंसिर २८ । झापाको हल्दिबारी गाउँपालिकाले जीर्ण हुँदै गएका पालिका क्षेत्रका सबै काठेपुल हटाएर पक्की संरचना निर्माण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले १५० वटा काठका जीर्ण पुल हटाएर पक्की संरचना निर्माण गरिएको जानकारी दिए । हटाइएको काठे पुलको ठाउँमा कतै कंक्रिटको पक्की पुल र कतै कल्भर्ट बनाइएका छन् । केही झोलुंगे पुल पनि बनेका छन् ।
झापामा तीन दशक अघिसम्म अधिकांश खोला र खोल्साहरुमा काठका पुल बनाइएका थिए । ती पुल घामपानीले खिइँदै र पुरानो हुँदै जाँदा जीर्ण हुने गर्छन् । हाल हल्दिबारी गाउँपालिका काठेपुलमुक्त क्षेत्र भएको अध्यक्ष लिङदेनले बताए ।
होचो भूभागको रुपमा चिनिने हल्दिबारी क्षेत्रमा देउनिया, अदुवा लगायतका खोला छन् । पूर्वपश्चिम राजमार्गले नछोएको यो पालिका पुरानो सदरमुकाम भद्रपुर र हुलाकी राजमार्गसँग भने जोडिएको छ ।
पालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग फराकिलो र कालोपत्रे भइसकेको छ भने पुलहरु सबै कंक्रिटको पक्की बनिसकेका छन् । हल्दिबारीका सबै पाँचैवटा वडामा कालोपत्रे सडक पुर्याउने योजना सम्पन्न भइसकेको पालिकाका योजना शाखाका प्रमुख राजन न्यौपानेले बताए ।
उनका अनुसार पालिकाले विगत छ वर्षमा ६० किलोमिटर सडक कालोपत्रे गरेको छ । मुख्य सडकहरु कालोपत्रे भइसकेका छन् । कतिपय सडक आन्तरिक स्रोत साझेदारीको रुपमा परिचालन गरेर बनाइएका छन् भने अधिकांश सडक निर्माणमा संघीय सरकारबाट प्राप्त सशर्त र समानिकरणको बजेट प्रयोग भएका छन् ।