
बिर्तामोड, मंसिर ३० । यसअघि पनि पटकपटक अनियमिततामा मुछिँदै आएका वीरेन्द्रप्रसाद गुप्ता प्रधानाध्यापक रहेको झापा गाउँपालिका-४ को डिल्लीराज माविविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले छानबिनका लागि पत्राचार गरेको छ ।

आयोगले झापा गाउँपालिकालाई पत्रचार गर्दै छानबिनका लागि अनुरोध गरेको हो । विद्यालयका प्रधानाध्यापक गुप्ताको मिलेमतोमा आर्थिक हिनामिना तथा अनियमितता भएको भन्दै आयोगले रायसहितको छानबिन प्रतिवेदन पठाइदिन गाउँपालिकालाई अनुरोध गरेको स्रोतले जनाएको छ ।
‘विद्यालयका प्रधानाध्यापक समेतको मिलेमतोमा विद्यार्थीहरु अनुपस्थित भए पनि दैनिक हाजिर खातामा हाजिर गरी रकम भुक्तानी लिइरहेको भन्ने समेतको सम्बन्धमा के कसो भएको भए गरेको हो, उक्त उल्लेखित विषयहरुको सम्बन्धमा अधिकृत स्तरसहितको कर्मचारीबाट स्थलगत रुपमा छानबिन गरी अनिवार्य रुपमा राय प्रतिक्रियासहितको प्रतिवेदन लगायतका प्रमाणित कागजातहरु समेत १५ दिनभित्र अनिवार्य उपलब्ध गराइदिन गाउँपालिकालाई मंसिर २४ को निर्णयानुसार अनुरोध गरेको छ’, आयोगको पत्रमा उल्लेख छ ।
आयोगमा निवेदकले डिल्लिराज माविका विषयमा १६ बुँदे उजुरी पेस गरेका छन् । जसमा २०७६/०७७ यता वीरेन्द्रप्रसाद गुप्ता प्रधानध्यापक भएपछि कयौँ कुराहरुमा अनियमितता भएको उल्लेख गरेका छन् ।
बालबिकास शिक्षकका रुपमा सो विद्यालयमै कार्यरत गुप्ताकी पत्नी ज्योतिकुमारी गुप्ता विद्यालयमा अनुपस्थित भएको दिनमा पनि स्वयम प्रधानाध्यापकले कीर्ते हस्ताक्षर गरी हाजिरी गरेर पदीय दुरुपयोग गरेको उजुरीमा उल्लेख छ ।
त्यस्तै, बजार मूल्यभन्दा बढी मूल्यको बील भौचर तयार पारेर विद्यालयमा विद्यार्थी तथा शिक्षक कर्मचारीका लागि भनी खरिद गरिएका कमसल स्तरका डेक्स, बेन्च, पंखा, पोडियम, इन्टरएक्टिभ बोर्ड, प्रोजेक्टर, स्मार्टबोर्ड, सिसिटिभी क्यामेरा, टेबल, कार्पेट, सोफा, सेनिटाइजर, फिल्टर, ट्वाइलेटका सामानमा अनावश्यक रुपमा भष्ट्रचार गरेको लगायतका १६ बुँदे उजुरी दायर गरिएको छ ।
प्रधानाध्यापक गुप्ताले विद्यालयका प्रायः सबै गतिविधि, प्रशासनिक काममा अनियमितता गरेको आरोप उजुरीमा उल्लेख छ ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक गुप्ताले अख्तियारमा गरिएको उजुरीका विषयमा अब गरिने छानबिनमा पूर्ण सहयोग गर्ने बताए । उनले आफूमाथि लगाइएको आरोप निराधार रहेको भन्दै छानबिन समितिलाई पूर्ण सहयोग गर्ने बताएका हुन् ।
गुप्ता यसअघि अर्जुनधारा ६ को लक्ष्मी माविमा हुँदा पनि अनियमिततामा मुछिएका थिए । स्थानीय अभिभावक तथा जनप्रतिनिधिले उनलाई त्यहाँबाट हटाउन दबाब दिएपछि उनी डिल्लीराज मावि गएका थिए ।