२०८२ असार १८ बुधबार
Jhapa Today
Adv top

काँकरभिट्टामा जिल्लास्तरीय ‘बि’ डिभिजन क्रिकेट सुरु


मेचीनगर, मंसिर ३० । झापाको मेचीनगरस्थित काँकरभिट्टा माविको खेलमैदानमा जिल्ला कप बि डिभिजन तथा प्रधानमन्त्री कपको छनोट प्रतियोगिता सुरु भएको छ ।

आउँदै गरेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने उद्देश्यले आजबाट सुरु भएको प्रतियोगितामा झापाका १२ वटा क्लबले सहभागिता जनाएका छन् ।

एक कार्यक्रमका बीच प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उद्घाटन खेलमा काँकरभिट्टाको मिलन क्रिकेट क्लब विजयी भएको छ । मिलनले ताराबारी क्रिकेट क्लब दमकलाई हराएको हो ।

प्रतियोगितामा मिलन र ताराबारीसहित आदर्श सेवा समिति क्लब भद्रपुर, आदर्श युवा क्लब बुद्धशान्ति, बाहुनडाँगी युवा क्लब, कनकाई सचेत युवा क्लब, बोस्टन क्रिकेट क्लब बिर्तामोड, घैलाडुब्बा क्रिकेट क्लब, पिटिसिटी क्रिकेट क्लब दमक, युनाइटेड क्रिकेट क्लब बिर्तामोड, लर्ड बुद्ध क्रिकेट क्लब काँकारभिट्टा र भद्रपुर क्रिकेट क्लब सहभागी छन् ।

प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडी सम्मिलित झापा जिल्लाको टिम बनाइने आयोजक झापा जिल्ला क्रिकेट संघले जनाएको छ ।

संघका अध्यक्ष प्रविण थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भण्डारी, समितिका पूर्वअध्यक्ष शंकर थापा, नेपाल खेलकुद पत्रकार मञ्च झापाका निवर्तमान अध्यक्ष हिमाल खरेललगायतले खेलाडीलाई शुभकामना दिएका थिए ।

Adv footer