
बिर्तामोड, पुस २ । इलामको रोङ गाउँपालिका–४ किटेनीस्थित मेची राजमार्गमा पराल बोकेको पिकअपमा आगजनी गरेको आरोपमा बुलेट किराती भन्ने अन्जेश राईलाई प्रहरीले पक्राउ गरेको छ ।

बुद्धशान्ति–४ का राईलाई जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले आज अर्जुनधारा–११ नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

उनी प्रदेशको पुनःनामांकन संयुक्त संघर्ष समितिका बुद्धशान्ति संयोजक, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ, अभियानअन्तर्गत नागरिक युवा दस्ताका मेचीनगर संयोजक भएको बुझिएको छ ।

प्रदेश नम्बर १ पुनःनामांकन संयुक्त संघर्ष समितिको आह्वानमा कोशी प्रदेशमा यातायात बन्दको अवज्ञा गरेको भन्दै शनिबार पराल बोकेको मे. १ ज ११४० नम्बरको पिकअप गाडीमा आगजनी गरिएको थियो । आगजनीमा संलग्नहरुको हुलियाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाम लगिएको झापा प्रहरीले जनाएको छ ।