बिर्तामोड, पुस ३ । आफ्नो भविष्य सुन्दर बनाउने भन्दै झापाली फुटबलर विदेशिएको खबर पुरानो भइसक्यो । तर, फुटबलका निर्णायक पनि आर्थिक अवस्थाका कारण नेपाल छोड्न थालेका छन् ।
झापाका एन्फा रेफ्री लक्ष्मण चौधरी वैदेशिक रोजगारका लागि युएईतर्फ उडेका छन् । खेलाडी हुँदै रेफ्री कोर्स गरेर झापा तथा पूर्वी पहाडमा निर्णायकको भूमिका निभाउँदै आएका चौधरी सोमबार साँझ युएई गएका हुन् ।
झापाको बाह्रदशी गाउँपालिका डाँगीबारीका ३१ वर्षीय चौधरीले सन् २०१९ मा एन्फा रेफ्री कोर्स गरेको झापा जिल्ला फुटबल रेफ्री संघका अध्यक्ष श्याम दनुवारले जानकारी दिए ।
चौधरीले यसअघि मध्यपुर, वीरगञ्ज लगायतका क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । उनले एन्फाले आयोजना गरेको ‘बि’ डिभिजन लिग पनि खेलेका थिए ।