२०८२ बैशाख १९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडले सुरु गर्‍यो सामुदायिक कुकुरको बन्ध्याकरण


बिर्तामोड, पुस ५ । बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु भएको छ । बिर्तामोड नगरपालिकाले गएका वर्षहरुमा जस्तै यस वर्ष पनि आजदेखि बन्ध्याकरण शिविर सुरु गरेको हो ।

चार दिनसम्म सञ्चालन हुने शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याउने र बन्ध्याकरणसँगै रेबिजविरुद्धको भ्याक्सिन तथा आवश्यकताअनुसार अन्य औषधि र उपचार गरेर छोडिने पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।

हाम्रो भेटेरिनरी सेवा सहकारी संस्थाको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा योपटक २५० भन्दा बढी कुकुरको बन्ध्याकरण गरिनेछ ।

शिविर उद्घाटन कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईंले बिर्तामोडमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आए पनि सामुदायिक कुकुरले बाहिर बाँधेका बाख्राका पाठा, गाईलाई टोक्ने, मानिसलाई नै आक्रमण गर्ने गरेको र उनीहरुबाट रेबिजसमेत सर्ने भएकोले समस्या समाधानका लागि शिविर सञ्चालन गरिएको बताइन् ।

बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको छ । हालसम्ममा करिब २ हजार १०० भन्दा बढी कुकुरलाई बन्ध्याकरण गरिएको जनाइएको छ ।

पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख दाहालले छिमेकी पालिकाहरुले पनि हरेक वर्ष अनिवार्य रुपमा शिविर आयोजना गरे मात्रै सामुदायिक कुकुर नियन्त्रण गर्न सकिने बताइन् । शिविरमा २ जना डक्टरसहित १८ जनाको टिम खटिएको छ ।

शिविर उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर १ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डे, कार्यपालिका सदस्य सीता ढुङ्गाना, संगीता सिवा, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौला, नगरपालिकाका अधिकृत मेघराज बाँस्तोला, हाम्रो भेटेरिनरी सेवा सहकारी संस्थाका अध्यक्ष डक्टर दिलिप सापकोटा लगायतको उपस्थिति रहेको थियो । शिविर पुस ८ गतेसम्म सञ्चालन हुनेछ ।

Adv footer