२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कञ्चनजंघा र तिम्बुङ चिनाउँदै बिर्तामोडका दुई युवा


बिर्तामोड, पुस ९ । झापाको बिर्तामोडका अमिर राई र मनोज बस्नेत कञ्चनजंघा हिमाल र तिम्बुङ पोखरीको प्रचार र प्रवर्धनमा तल्लीन छन् ।

३१ वर्षीय अमिर र २८ वर्षीय बस्नेत काठमाडौँमा बसेर ट्रेक ८५८६ नामक ट्रेकिङ एजेन्सीमार्फत आन्तरिक तथा विदेशी पर्यटकसामु कञ्चनजंघा र तिम्बुङको प्रवर्धनमा जुटेका हुन् ।

उनीहरूले कञ्चनजंघा बेसक्याम्पसम्मको ट्रेकिङ प्याकेज १६ दिनको बनाएका छन् । गाडी, खान–बस्न र गाइड सुविधासहित ५० हजारमा उनीहरूले आन्तरिक पर्यटक घुमाइरहेका छन् । विदेशीलाई भने यो रुट केही महँगो पर्नेछ ।

ट्रेकिङ गाइडका यी अनुभवी युवाको मुख्य मिसन कञ्चनजंघा नै हो । त्यही भएर उनीहरूले एजेन्सीको नाम पनि कञ्चनजंघाको उचाइलाई आधार मानेर जुराएका हुन् । कञ्चनजंघालाई केन्द्रमा राखेर ससाना चुचुराको प्रवर्धनमा पनि यी दुई जुटेका छन् ।

नेपालतिर कञ्चनजंघाको दुई वटा बेसक्याम्प छन् । उत्तरी बेसक्याम्प घुन्सातिरबाट जान सकिन्छ । दक्षिणतिर याम्फुदिन हुँदै पुरानो ट्रेल ओक्ताङको बाटो बेसक्याम्प पुगिन्छ ।

तर, साउथ बेस क्याम्पमा स्तरीय होटलको अभाव छ । त्यहाँ स्तरीय होटल सञ्चालनको परिकल्पना पनि उनीहरूसँग छ । यालुम भन्ने ठाउँमा आगामी वर्ष होटल सुरु गर्ने लक्ष्य छ ।

‘इकोनमिक बेनिफिट अफ इको टुरिजम इन कञ्चनजंघा कन्जरभेसन एरिया’ विषयमा थेसिस पूरा गरेका बस्नेतलाई कञ्चनजंघा उपेक्षामा परेको लाग्छ ।

कञ्चनजंघासँगै तिम्बुङ पोखरीको प्रवर्धनमा पनि राई र बस्नेत जुटेका छन् । सिदिङवा गाउँपालिका–१ कालीखोलामा पर्ने यो पाँचथर र ताप्लेजुङको सीमा क्षेत्रमा पर्छ । जसले ताप्लेजुङ र पाँचथरलाई छुट्याउँछ । पोखरी दुवै जिल्लाको आधा–आधाजस्तो छ ।

तिम्बुङ पोखरीमा यसअघि आन्तरिक पर्यटकको मात्रै चाप हुन्थ्यो । खासगरी धार्मिक पर्यटकको भर थियो । अहिले विदेशीको पनि चाप बढ्न थालेको छ ।

पहिला गोठमा मात्रै बस्नुपर्थ्यो । सातु चामल बोकेर जानुपर्ने अवस्था थियो । अहिले ४ हजार २०० मिटरको उचाइमा होटल खुलेपछि आन्तरिक र बाह्य दुवै पर्यटकको चाप बढेको छ । हिउँदमा हिउँ खेल्ने, असार साउनमा हरियाली र केन्जो फूल हेर्न पर्यटकको चाप बढ्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer