२०८२ बैशाख १८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

हराउँदै झापाका रैथाने माछा


बिर्तामोड, पुस १२ । झापाका रैथाने जातका माछाहरू हराउन थालेका छन् । जलचर संरक्षण ऐन कार्यान्वयन हुन नसक्दा रैथाने र खोलाका माछा लोपोन्मुख भएका हुन् ।

खेतबारीमा पाइने अन्धा बाम, कचिया बाम, मागुर, हिलेलगायतका स्थानीय रैथाने जातका माछाहरू लोप हुँदै गएको कोशी प्रदेश मत्स्य विकास निर्देशनालयले गरेको एक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, पोठी, चेलुवा, भोटिङ, सिठी, तिते, कुटकुटिया जस्ता रैथाने जातको माछाको पनि संकटमा पर्दै गएको जनाइएको छ । खेतबारीमा विषादीको प्रयोगले रैथाने माछा हराउन थालेका छन् ।

माछा हराउँदा धान पाक्ने बेला भदौ महिनादेखि असोज महिनासम्म माछा मार्ने र स्थानीय बजारमा बिक्री गरी जीविकोपार्जन गर्ने समुदाय पनि समस्यामा पर्दै आएका छन् ।

त्यस्तै, झापाका नदीहरुमा पाइने असला जातको माछा पनि विद्युत र बारुद प्रयोग गरी बीउ नै मासिने गरी गलत प्रविधिको प्रयोगले घट्न थालेको प्रतिवेदनमा उल्लेख छ ।

माछाबारे अनुसन्धानमा खटिएकी मत्स्य विकास निर्देशनालय कोशीकी मत्स्य विकास अधिकृत नेलसन पोखरेलका अनुसार छ दशकअगाडि निर्माण भएको ऐन कार्यान्वयन हुन अझै सकेको छैन । जसले गर्दा रैथाने माछाहरू लोप हुने अवस्थामा पुगेका छन् ।

रैथाने जातको माछा संरक्षणका साथै संस्कृतिसँग जोडिएका समुदायलाई माछा मार्नको लागि सिफारिस गरिएको हाते जाल मात्र प्रयोग गर्न प्रोत्साहन गर्नु पर्ने पोखरेलको सुझाव छ ।

रैथाने जातका माछाको संरक्षणका लागि कृषकस्तरमा सुरु भएको असला र कत्ले माछा पालन र व्यावसायिक प्रवर्धन गर्ने कार्यमा यथाशीघ्र कार्यक्रम ल्याई प्रवर्धनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

Adv footer