
दमक, पुस १५ । झापाको दमकमा बस्दै आएका इलामका धनबहादुर विश्वकर्माले पत्नीको हत्या गरेका छन् ।
इलामको माङसेबुङ ४ घर भई दमक २ मा बस्दै आएका विश्वकर्माले खुकुरी प्रहार गरी ६० वर्षीया पत्नी इन्द्रकुमारी विश्वकर्माको शनिबार दिउँँसो २ बजे हत्या गरेका हुन् ।
दमक २ को मखमली टोलमा कृष्ण विश्वकर्माको घरमा बस्दै आएका ६० वर्षीय धनबहादुरले घरायसी झगडा हुँदा खुकुरी प्रहार गरी पत्नी इन्द्रकुमारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हत्यामा संलग्न धनबहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिइएको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
घरायसी झगडा हुँदा धनबहादुरले पत्नीको टाउको, शरीरभरि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमा मृत्यु भएको थियो । विश्वकर्मा दम्पत्ती आफन्तको घरमा डेरा लिएर दैनिक ज्यालादारी गर्दै जीविकोपार्जन गर्दै आएका थिए ।