बिर्तामोड, पुस २० । मेची राजमार्गमा पराल बोकेको पिकअप जलाएको आरोपमा पक्राउ परेका अञ्जन राई दुई लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् ।
आपराधिक उपद्रव मुद्दा लगाइएका झापाको बुद्धशान्ति–४ का ३३ वर्षीय अञ्जन राई (बुलेट किराती) लाई इलाम जिल्ला अदालतले हिजो रिहा गरेको थियो ।
तर, उनका समर्थकले रिहा भएपछि राईलाई अबिर र फूल लगाएर स्वागत गरेका थिए । अदालतका श्रेस्तेदार इन्द्रकुमार श्रेष्ठका अनुसार उनीविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता रहेको र मुद्दामा अदालतले थप प्रक्रियागत कार्य गर्नेछ ।
कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै आन्दोलनरत समूहले गत मंसिर ३० र पुस १ गते मेची राजमार्गसहित केही स्थानमा यातायात बन्द आह्वान गरेको थियो । त्यही बेला इलामको रोङ–४, कोल्बुङको किटेनीस्थित मेची राजमार्गमा मे. १ च ११४० नम्बरको पिकअप भेन आगजनी गरिएको थियो ।
झापाबाट पराल बोकेर आइरहेको पिकअप आगजनी गरेको भन्दै प्रहरीले राईलाई पुस २ मा पक्रेको थियो । र, प्रहरीले उनीविरुद्ध १० लाख रुपैयाँको क्षति दाबी गरेको छ ।
Comments are closed