बिर्तामोड, पुस २० । कोशी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि झापासहितका महिला स्वास्थ्य स्वयमसेविकाहरु उत्साहित भएका छन् ।
मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा स्वास्थ्य स्वयमसेविकाहरुलाई ५ हजारका दरले प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको हो ।
त्यस्तै, सरकारले जिल्ला र प्रदेशस्तरमा स्वयमसेविकाहरुलाई पुरस्कृत गर्ने योजना पनि बनाएको छ ।
नेपाल महिला स्वास्थ्य स्वयमसेविका संघ कोशी इन्चार्ज रत्ना रिजालले प्रदेश सरकारले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रोत्साहन भत्ता र पुरस्कृत गर्ने व्यवस्थाले आफूहरु उत्साहित भएको बताइन् ।
महिला स्वास्थ्य स्वयमसेविकाहरुले रातदिन नभनी काम गरिरहेको दुःखलाई सम्झेर प्रोत्साहन भत्ता र पुरस्कारको व्यवस्था गरेकोमा उनले धन्यवाद दिइन् । यसले अझ जिम्मेवार भएर काम गर्न प्रेरित गर्ने उनको भनाइ छ ।
संघकी केन्द्रीय सचिवसमेत रहेकी झापाकी महिला स्वास्थ्य स्वयमसेविका विमला प्रसाईंले प्रदेशभरिमा ६ हजार महिला स्वास्थ्य स्वयमसेविका महिलाले गर्भधारण गरेदेखि बच्चा हुर्कुञ्जेल स्वयमसेवा गर्दै आएको अवस्थामा प्रदेश सरकारले प्रोत्साहन भत्ताको व्यवस्था गरेर थप जिम्मेवार बनाइदिएको बताइन् ।
मुख्यमन्त्री कार्कीले कोशीका १४ वटा जिल्लामा एकएकजना र प्रदेशभरिबाट एकजना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गर्ने बताए ।
कोरोना महामारीका बेला समेत घरघर पुगेर पीडितलाई हेर्ने महिला स्वास्थ्य स्वयमसेविकाहरुको सेवा महत्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रोत्साहन गर्ने नीति ल्याइएको बताए ।
Comments are closed