बिर्तामोड, माघ ४ । झापाको बिर्तामोड ३ मा रहेको मुसहर बस्तीका अधिकांश किशोरीको कम उमेरमै बिहे हुने गरेको पाइएको छ ।
मुसहर बस्तीका अधिकांश किशोरीले २० वर्ष नपुगी कम उमेरमै बिहे गरेका हुन् । केही महिनाअघि मात्र सन्तोष ऋषिदेवकी जेठी छोरी लक्ष्मीले १८ वर्षमै बिहे गरिन् ।
त्यस्तै, चन्दा चौधरीले १६ वर्षमा, दिलकुमारी ऋषिदेवले १८ वर्षकै उमेरमा बिहे गरेका हुन् । बाबुआमाको करकापमा भन्दा पनि आफ्नै राजीखुसीले मुसहर बस्तीका युवायुवतीहरुले कम उमेरमै गर्ने गरेका छन् ।
प्रायः सबैजनाको भागी विवाह नै हुने गरेको छ । शिक्षा र चेतनाको अभावमा रहेका विपन्न मुसहरहरुलाई बालविवाहका बारेमा थाहा छैन । उनीहरुलाई २० वर्ष नपुगी विवाह गर्दा कानुनी सजाय हुने कुरा पनि थाहा छैन ।
नजानेर र नबुझेर आफू र आफ्नो छोरीले पनि १६ वर्षमै बिहे गरेको अञ्जु ऋषिदेव चौधरीले बताइन् । अदुवा खोलाको किनारमा १० घर मुसहरहरुको बसोबास छ । बालविवाहका बारेमा अहिलेसम्म कसैले पनि नसिकाएको अञ्जुले बताइन् ।
कम उमेरमा विवाह गर्दा मुसहर महिलामा यौनिक र स्वास्थ्य समस्या देखिएको छ । कम उमेरमा विवाह गरेका अभिभावकबाट जन्मिएका बालबालिकामा कुपोषणको समस्या देखिएको मुसहर बस्ती निर्माण समितिका संयोजक इन्द्रसिंह राजवंशीले बताए ।
यसअघि एकजना मुसहर महिलाको पाठेघरको मुखमा समस्या पाइएको उनले जानकारी दिए । बालविवाह न्यूनीकरणका बारेमा विभिन्न संघसंस्थाले अभिमुखीकरण कार्यक्रम गरिरहँदा पछि परेका समुदायलाई लक्षित गरी त्यस्ता कार्यक्रम सञ्चालन गरिनुपर्ने राजवंशीको भनाइ छ ।
Comments are closed