२०८१ पुष ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

हल्दिबारीमा २५०० बिघामा तोरी खेती


बिर्तामोड, माघ ६ । झापाको हल्दिबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ ।

गाउँपालिकाका ५ वटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिए ।

गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो ।

प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान गाउँपालिकाको छ । हल्दिबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त छ ।

अहिले यहाँका खेत तोरी फुलेर पहेँलपुर भएका छन् । हल्दिबारी–२ का कृषक डम्बरप्रसाद चम्लागाईंले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने विश्वास व्यक्त गरे ।

गत वर्ष प्रतिमन छ हजारमा तोरी बिक्री भएको उनले बताए । यो वर्ष झापाभरिमा सबैभन्दा बढी हल्दिबारीमा तोरी खेती गरिएको छ ।

तोरी मिल सञ्चालन गर्दै सहकारी

हल्दिबारीमा एकता बहुउद्देश्यीय सहकारीले तोरीको तेल उत्पादन र प्रशोधन सुरु गरेको छ । कृषकले उत्पादन गरेको तोरी खरिद गरेर तेल उत्पादन तथा बिक्री वितरण गरिरहेको संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले बताए ।

कृषकलाई तोरी खेती गर्न प्रोत्साहनसँगै उत्पादनलाई बजारीकरण गर्नका लागि तेल मिल सञ्चालन गरेको उनको भनाइ छ ।

सुरुमा तेल मिलका लागि गाउँपालिकाले सहयोग गरेको थियो भने कृषि ज्ञान केन्द्र झापाले गत आर्थिक वर्ष २०७९÷०८० मा सहकारीलाई तेल फिल्टर र प्याकेजिङ मेसिनका लागि १५ लाख अनुदानसमेत उपलब्ध गराएको छ ।

सहकारीले हाल खुद्रा खरिद गर्नेलाई ४२० रुपैयाँ प्रतिलिटर तेल बिक्री गरिरहेको छ भने ५० लिटरभन्दा बढी खरिद गर्नेलाई ४०० रुपैयाँ प्रतिलिटर दिने गरेको संस्थाकी व्यवस्थापक उमा राईले बताइन् ।

हल्दिबारीकै प्रभात बहुउद्देश्यीय सहकारीले समेत तोरी मिल सञ्चालनको तयारी थालेको छ । प्रभातलाई समेत कृषि ज्ञान केन्द्रले तोरी पेल्ने मेसिन र फिल्टर जडानका लागि रु १५ लाख अनुदान उपलब्ध गराएको छ ।

सहकारीले स्थानीयस्तरमै तोरीको तेल उत्पादन गरेर बिक्री गरिरहेका छन् । सहकारीले प्याकेजिङ गरेर बजारमा पु¥याउन प्रज्ञापन पत्र लिने तयारीसमेत गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer