
बिर्तामोड, माघ ७ । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले भुइँमान्छेले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताएका छन् ।
नारी सञ्चार गृह झापाको आयोजनामा बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषको सभाहलमा सम्पन्न नागरिक आन्दोलन र लैङ्गिकता विषयक अन्तरक्रियामा सहभागीहरुले परिवर्तनका लागि भएका आन्दोलनले सफलता पाए पनि आन्दोलनबाट प्राप्त उपलब्धिले साधारण नागरिकलाई छुन नसकेको बताए ।
नागरिक आन्दोलनका अभियान्ता डा. सञ्जीव उप्रेती र अर्चना थापा मुख्य वक्ताको रुपमा रहेको कार्यक्रममा संघीयताको मर्मअनुसारको काम हुन नसकेको बताउँदै डा. उप्रेतीले अहिले पनि न्याय माग्नका लागि काठमाडौँ नै धाउनुपर्ने, धर्ना, अनसन नै बस्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए ।

विगतमा नागरिक आन्दोलनका नेतृत्व गर्नेहरु राजनीति लगायत राज्यका कुनै न कुनै लाभका पदमा गएकाले दलीय वा डलरवादीको आरोप पनि लाग्ने गरेको उप्रेतीले बताए ।
लवाइखुवाइमा, राम्रो गाडी चढेर, डिग्री होल्डर हुँदैमा परिवर्तन आउन नसक्ने बताउँदै वक्ता अर्चना थापाले समाज रुपान्तरणका लागि सोचमै परिवर्तन आउनुपर्ने बताइन् । अझै पनि लैङ्गिक असमानता कायम रहेको बताउँदै थापाले सबैभन्दा घरपरिवारको घेरा तोड्न कठिन रहेको बताइन् ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा सचिव मायामितु न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।