बिर्तामोड, माघ ८ । अयोध्यास्थित निर्माणाधीन राम मन्दिरको प्राणपतिष्ठाका क्रममा शास्त्रीय विधिविधान पूरा गराउने कार्यमा संलग्न हुने नेपाली नागरिक दुर्गाप्रसाद गौतमले आफूले पाएको अवसर ‘ऐतिहासिक’ भएको बताएका छन् ।
पाँच सय वर्षपछि राम मन्दिरको प्राणप्रतिष्ठा हुन गइरहेको र त्यसका धार्मिक विधिविधान गराउने कार्यमा आफू संलग्न हुन पाउनु ‘गौरवको कुरा’ भएको उनले बताए ।
राम मन्दिरमा प्राणप्रतिष्ठा हुन लागेका बेला उनले “यो नेपाल र नेपालीका लागि पनि गर्वको कुरा” भएकोमा जोड दिए ।
झापाका गौतम सन् २०२० को मार्च १८ देखि श्री राम जन्मभूमि तीर्थ क्षेत्रका मुख्य ‘आचार्य’ का रूपमा कार्यरत छन् । गौतमले आफूलाई अहिले निकै शौभाग्यशाली व्यक्ति भएको जस्तो महसुस भइरहेको बताए ।
‘मोदीजीलाई भूमिपूजा गराउँदा मलाई कस्तो भयो होला ? पाँच सय वर्षपछि यो मन्दिरको प्राणप्रतिष्ठा हुँदैछ र म गराउँदै छु भन्दा म आफैँले आफूलाई बडो शौभाग्यशाली ठान्छु’, उनले भने ।
उनले सन् २०२० देखि पटकपटक भारतका उच्च अधिकारीहरू आउँदाखेरि उनीहरूले गर्ने मुख्य पूजामा आफू संलग्न भइरहेको बताए । यद्यपि उनलाई नेपालमा राम मन्दिरको मुख्य पुजारी भनिएकोमा गौतमले आफू मुख्य पुजारी नभएको स्पष्ट पारे ।
उनले भने, ‘म मुख्य आचार्य हुँ । मुख्य पुजारी होइन । मुख्य पुजारी त सतेन्द्र दासजी हुनुहुन्छ । मुख्य पुजारीको काम मन्दिरको नियमित पूजाअर्चना गर्ने हुन्छ भने आचार्यको काम कुनै ठूलो यज्ञ वा अनुष्ठान गर्दा व्यवस्थापन गर्ने र विशेष पूजा गर्दा पुरोहितहरूको नेतृत्व गर्ने हुन्छ ।’
गौतमको पृष्ठभूमि
झापाका ३५ वर्षीय दुर्गाप्रसाद गौतमले पुरोहितका रूपमा सन् २०२० मा मोदीलाई भूमिपूजन गराएका थिए । त्यस बेला पनि नेपालमा उनको चर्चा भएको थियो ।
खड्गप्रसाद गौतमका जेठा छोरा गौतम झापाको मेचीनगर-१ बाहुनडाँगीका स्थायी बासिन्दा हुन् । नेपालमा प्राथमिक शिक्षा लिएर अध्ययनका लागि आफू भारत गएको उनी बताउँछन् ।
बनारस र दिल्लीबाट उच्च शिक्षा हासिल गरेका उनी अहिले अयोध्यास्थित राम मन्दिरका मुख्य आचार्य रहेका छन् । गौतम स्थानीय एउटा वेद विद्याश्रममा अध्यापन पनि गराउँछन् ।
संस्कृत व्याकरणमा आचार्य गरेका गौतम अहिले विद्यावारिधिको तयारीमा रहेको बताउँछन् ।
–बिबिसी नेपालीबाट सम्पदान गरी साभार गरिएको ।