
बिर्तामोड, माघ ८ । झापाको अर्जुनधारामा एकजना महिला मृत अवस्थामा भेटिएकी छन् ।


आज बिहान ६ बजे अर्जुनधारा-६ बिहानीटोल ब्याडमिन्टन कबर्डहलको गेटछेउमा महिला मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


मृत भेटिएकी ५० वर्षीया महिला माया मगर रहेको निमित्त प्रहरी प्रवक्ता ढुण्डीराज गिरीले झापा टुडेलाई जानकारी दिए । मगरको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।


मृतक महिला इलाम माई-१ महमाई कलकत्ते माइती भई हाल बिर्तामोड-५ मा अस्थायी बसोबास गर्ने कुमार पुलामी मगरकी श्रीमती रहेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुर झिकाइएको र केहीबेरमा घटनास्थल आइपुग्ने गिरीले बताए ।


थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

