बिर्तामोड, माघ ११ । उपाधिको दाबेदार पाँचथर एफसीलाई हराउँदै झापाको बिर्तामोड युनाइटेड एफसी यहाँ जारी इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
ठुलो टुँडिखेलमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा भाग्यमानी बन्दै बिर्तामोड उपाधि होडमा उक्लिएको हो । पाँचथरलाई ४–२ गोलअन्तरमा बिर्तामोडले पाखा लगायो ।
निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि छिनोफानो टाइब्रेकरबाट लिइएको हो । पाँचथरका अशोक खवासको प्रहार झापाका गोलरक्षक सन्दिप लिम्बूले रोक्दा बिजु भुजेलको प्रहार बाहिरिएको थियो ।
पाँचथरका लागि साइमन लिम्बू र सुदिप श्रेष्ठको प्रहारमात्र गोलमा परिणत भएका थियो । बिर्तामोडका विशाल दर्जीको प्रहार पाँचथरका गोलरक्षक रोशन नेपालले रोकेका थिए ।
तर, एन्जल गुरुङ, दिवस उराव, रोहन कार्की र प्रदिप बुढाथोकीको प्रहार गोलमा परिणत भएपछि बिर्तामोडले कम्तिमा ३ लाख रुपैयाँ सुरक्षित गरेको छ । खेलको म्यान अफ दी म्याच बिर्तामोडका सञ्जित राई घोषित भए । उनले नगद ५ हजार पाए ।
माघ १३ गते बिर्तामोडले काठमाडौँको पाहुना टोली न्यू रोड टिम (एनआरटी) सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । रेडहर्स एफसीले आयोजना गरेको गोल्डकपको विजेताले नगद ५ लाख र ट्रफी पाउने छ ।