२०८२ बैशाख २० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

शारीरिक सम्बन्धका कारण मायाको हत्या, प्रसाईं पक्राउ


बिर्तामोड, माघ १४ । झापाको अर्जुनधारामा एक साताअघि भएको एकजना महिलाको हत्यामा संलग्न व्यक्तिलाई झापा प्रहरीले सार्वजनिक गरेको छ ।

आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर हत्यामा संलग्न चन्द्रप्रसाद प्रसाईंलाई सार्वजनिक गरिएको हो ।

माघ ८ गते बिहान ६ बजे अर्जुनधारा–६ बिहानीटोल ब्याडमिन्टन कबर्डहलको गेटछेउमा मृत भेटिएकी ५० वर्षीया माया कार्की (पुलामी मगर) लाई बिर्तामोड ८ स्थायी घर भई हाल बिर्तामोड ५ मा बस्दै आएका ४६ वर्षीय प्रसाईंले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

हर्कलालमार्गमा दिलु मुखियाको घरमा कामको सिलसिलामा बस्दै आएका प्रसाईंले मगरलाई हत्या गर्नुको कारण अवैध शारीरिक सम्बन्ध रहेको देखिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सुरज कार्कीले बताए ।

माघ ६ गते मृतक मगर र उनकी साथी ऐनु राईसँग प्रसाईंको भेट बिर्तामोड पश्चिम बसस्टेन्डमा भएको र सोही दिन राईले प्रसाईं र मगरबीच शारीरिक सम्बन्धका लागि सहमति गराएको अनुसन्धानबाट बुझिएको प्रहरीले जनाएको छ ।

प्रसाईंले सोही दिन मगरसँग आफू बस्ने घरमा लगेर एकपटक शारीरिक सम्बन्ध राखेको स्वीकारेका छन् । त्यस्तै, भोलिपल्ट प्रसाईंले मगरलाई खोज्दै उनी बस्ने ठाउँ अर्जुनधारा ६ को पुलचोक पुगेका थिए ।

उनीहरुबीच भेट भई गफगाफका क्रममा प्रसाईंले मगरलाई बिहेको प्रस्ताव गरेका थिए । तर, बिहेको प्रस्ताव गर्दा मगरले प्रसाईंलाई हातले आँखामा हानेकी थिइन् ।

आफूमाथि हातपात भएपछि रिसको झोँकमा प्रसाईंले बाटोमा रहेको ढुंगाले पटकपटक मगरको टाउकोमा प्रहार गरेका थिए ।
मगरको हत्या गरेपछि ढुंगा उत्तरतर्फ बारीमा फ्याँकेर प्रसाईं घटनास्थलबाट पूर्वतर्फ लागेका थिए ।

प्रहरी निरीक्षक नरेश लिम्बूको नेतृत्वमा रहेको अनुसन्धान टोलीको निष्कर्षपछि प्रसाईंलाई माघ १३ गते बिर्तामोडबाट पक्राउ गरिएको हो ।

मृतक मगरका तीनवटा श्रीमान रहेको बुझिएको प्रहरीले जनाएको छ । उनी जेठो श्रीमानतर्फका छोरासँग बस्दै आएकी थिइन् । उनका पहिलो श्रीमान बस्नेत थरका, दोस्रो बुढाथोकी थरका र तेस्रो श्रीमान कुमार पुलामी मगर रहेका छन् ।

उनी घटना भएको केही दिनअघि छोराबुहारीको घर छाडेर अर्जुनधारा ६ मा गाउँघरमा काम खोज्दै बस्दै आएकी थिइन् । उनी दिनहुँ मदिरा सेवन गर्ने गरेको प्रहरीले जनाएको छ ।

मृतक मगरको माइती इलाम माई–१ महमाई कलकत्ते रहेको छ ।

Adv footer