२०८२ बैशाख २० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड-८ का अपाङ्ग र विपन्न ज्येष्ठ नागरिकलाई न्यानो लुगा


बिर्तामोड, माघ १४ । बिर्तामोड नगरपालिका वडा नम्बर ८ कार्यालयले अपाङ्गता भएका र विपन्न ज्येष्ठ नागरिकहरूलाई यस वर्ष पनि जाडोको लुगा वितरण गरेको छ ।

बर्सेनि न्यानो लुगा बाँड्दै आएको ८ नम्बर वडा कार्यालयले आइतबार कार्यालयमा एक कार्यक्रम गरी अपाङ्गता भएका ५० जना र ७७ जना विपन्न ज्येष्ठ नागरिक गरी १२७ जनालाई जाडोको लुगा वितरण गरेको हो ।

वडा कार्यालयले गत वर्ष ती लक्षित समूहलाई ब्लांकेट वितरण गरेको थियो । वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष अजय कार्की, वडा सदस्य सोयालाल राजवंशी, वडा सचिव वेदप्रकाश अधिकारी, वडाको मेलमिलाप समितिका सदस्य कृष्ण श्रेष्ठलगायतले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई जाडोको लुगा वितरण गरेका थिए ।

स्थानीय सरकारको दायित्व निर्वाह गर्ने क्रममा आफ्ना वडाभित्र रहेका अपाङ्गता भएका र विपन्न ज्येष्ठ नागरिकहरूलाई जाडोमा समस्या नहोस् भनेर न्यानो लुगा वितरण गरिएको वडा अध्यक्ष कार्कीले बताए ।

उनले केही दिनपछि शुक्रराज आधारभूत विद्यालयका २३७ जना विद्यार्थीलाई स्कुले जुत्ता वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरूलाई जाडोको लुगा वितरण गर्न वडा कार्यालयले डेढ लाख रुपैयाँ छुट्याएको थियो ।
गरिब, असहायका लागि सहयोग गर्न वडा अध्यक्ष कार्की अगाडि देखिएका छन् । त्यही लोकप्रियताका कारण उनले दोस्रोपटक वडा अध्यक्ष जितेका हुन् ।

Adv footer