

दमक, माघ १५ । झापाको कमल–३ का मुलुकसिंह राईसँगको लेनदेनका कारण तीन परिवारको बिल्लीबाठ नै भएको छ ।
मुलुकसिंह, उनका भाइ लीला र मुलुकसिंहकी श्रीमती शोभाविरुद्ध मिटरब्याजविरुद्ध उजुरी दर्ता भए पनि जिल्ला प्रशासन कार्यालय झापाले छिनोफानो गर्न सकेको छैन ।
ऋण लगानी गरेर जग्गा धितोको राजीनामा पास गराउने र त्यसपछि घरजग्गा हत्याउने उनको शैली छ ।
आफूले ऋण नलिए पनि ऋण खोज्नेसँग मुलुकसिंहको भेट मात्र गराइदिएका झापा दमक–६ का सौरव शर्माले दमकमा रहेको दुईतले घर र शिवसताक्षीमा रहेको पाँच कट्ठा जग्गा गुमाएका छन् ।
शर्मा परिवारले मुलुकसिंह, उनका भाइ लीला र मुलुकसिंहकी श्रीमती शोभाविरुद्ध जिल्ला प्रशासन कार्यालय झापामा मिटरब्याजविरुद्ध उजुरी दर्ता गराएका छन् ।
जिल्ला प्रशासन कार्यालयले वडा कार्यालयबाट घर फिर्ता दिने गरी भएको कागजात प्रमाणित गरेर ल्याउन भनेको छ । तर, दमक– ६ का वडा अध्यक्ष टेकबहादुर थापाले कागजात प्रमाणित गरिदिनै नमानेको पीडित रमेशको दुखेसो छ ।
मुलुकसिंहले कमल गाउँपालिका–५ की रेणु राईको एक कट्ठा जग्गा पनि हडपेका छन् । रेणुले सात वर्षअघि मुलुकसिंहसँग चार लाख ऋण लिएकी थिइन् । त्यसको बदला रेणुले आफ्नो जग्गा धितोका रूपमा राजीनामा पास गरेर दिएकी थिइन् ।
झापा शिवसताक्षी–११ का हर्कधन सेवा अहिले मुलुकसिंह र उनका भाइ लीलाका कारण बिखलबन्दमा छन् । उनको बन्दै गरेको तीनतले घर र पूर्व–पश्चिम राजमार्गसँग जोडिएको शिवसताक्षी–११ दुधेको एक बिघा दुई कट्ठा जग्गा पनि डुबेको छ ।
२०७३ मा मुलुकसिंह र उनका भाइ लीला राईबाट घर बनाउन भनेर हर्कधनले ८३ लाख ऋण लिएका थिए । ऋण दिन मुलुकसिंह र लीलाले सर्त राखे, जग्गा राजीनामा पास गर्नुपर्छ । घर बनाउने ठाउँको एक बिघा दुई कट्ठा जग्गा उनले मुलुकसिंह र लीला राईको नाममा राजीनामा पास गरिदिए ।
०७८ मा पैसा तिरिसक्ने र जग्गा फिर्ता गर्ने गरी सर्तनामा कागज पनि गरियो । हर्कधनले ६० लाख रुपैयाँ र ब्याजबापत १५ धुर जग्गा दिएका छन् । तर, अहिले उनको करिब १५ करोडको जग्गा साहुकार मुलुकसिंह, लीला र शोभा राईको परिवारको स्वामित्वमा छ ।
अहिले जिल्ला प्रशासन कार्यालय झापामा मिटरब्याजी राई परिवारविरुद्ध उनले उजुरी हालेका छन् । तर, उनको फिर्तीनामा कागज शिवसताक्षी–११ का वडा अध्यक्ष बहादुर आङ्बोले प्रमाणीकरण गरिदिन नमान्दा समस्या भएको पीडित हर्कधन बताउँछन् ।
-नयाँपत्रिकाडेलीबाट सम्पादन गरी साभार