

बिर्तामोड, माघ १५ । समाजसेवासँगै व्यापारमा उदाउँदै गरेका बिर्तामोडका युवा माधवकुमार झाले ‘मिसन बिर्तामोड’ परिवर्तनका लागि युवा अभियान सुरु गरेका छन् ।


आज एक कार्यक्रमका बीच बिर्तामोडको मुक्तिचोकमा अभियानको घोषणा गरिएको हो । मिसन बिर्तामोडले सामाजिक विकृति तथा समस्याहरुको समाधानको विषयमा बोल्ने अभियन्ता झाले जानकारी दिए ।


एक वर्षअघि आत्मदह गरेर मृत्युवरण गरेका इलामका प्रेम आचार्यको न्यायको लागि झा मुक्तिचोकमा अनशन बसेका थिए ।


बिर्तामोडका युवामाझ लोकप्रिय २४ वर्षीय उनी साथीभाइको साह्रोगाह्रोमा तुरुन्त पुगिहाल्छन् । युथ फर सोसियल ट्रान्सफरमेसन नामक संस्थाको स्थापना गरेर उनले बालबालिकाको क्षेत्रमा पनि काम गर्दै आएका छन् ।
सो संस्था विपन्न बालबालिकालाई छात्रवृत्ति दिएर पढाउने उद्देश्यले स्थापना भएको हो । बालबालिकाका लागि उनले झापाका ग्रामीण क्षेत्रमा शैक्षिक सामग्रीदेखि अन्य सहयोग गर्दै आएका छन् ।


साथीभाइमाझ ‘टाइगर’ उपनामले परिचित उनी काम पनि त्यस्तै गर्न रुचाउँछन् । हक्की, निडर र लिडर उनले आफ्नो व्यक्तिगत खर्चमा १५ जना विपन्न विद्यार्थीलाई पढाइरहेका छन् । २ नम्बर प्रदेशका ती विद्यार्थी अढाइ वर्षयता झाले प्रदान गर्दै आएको खर्चमा अध्ययन गरिरहेका छन् ।


उनको संस्थाले सुरुवाती दिनमा स्कुलसम्म पुगेर विद्यार्थीलाई तालिम, शैक्षिक सामग्री वितरण, विशेषज्ञ लगेर परीक्षा लेख्न सिकाउने, उत्प्रेरणामुलक तालिम तथा अन्य सहयोग गरेका छन् ।


खासगरी सामुदायिक विद्यालयका विद्यार्थीहरुमा देखिने अनेकन मनोसामाजिक समस्या दूर गर्न झा र उनको टिमले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
लागुऔषधको लतमा लागेका युवालाई नयाँ जीवन प्रदान गर्न सुधार केन्द्र सञ्चालन गर्ने योजना बनाएका छन् ।
उनले आगामी दिनका लागि नयाँ भिजन ल्याएका छन्, युवा सशक्तीकरण र जागरण । त्यस्तै, युवालाई उद्यमी, व्यवसायी कसरी बनाउने, स्वदेशमै उनीहरुलाई कसरी व्यस्त बनाउने भन्नेबारे योजना बनाइरहेको उनी सुनाउँछन् ।