
बिर्तामोड, माघ १८ । नुन हाम्रो खानपानमा सोडियमको सबैभन्दा प्रमुख स्रोत हो । हाम्रो शरीरका धेरै प्रक्रियाका लागि सोडियम जरुरी हुन्छ ।
कोशिकालाई ठिक ढंगले काम गर्नेदेखि शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्सलाई सन्तुलित गर्न र ब्लड प्रेसर नियन्त्रण गर्ने काम सोडियमको उपस्थितिबिना सम्भव हुँदैन ।
त्यसैले, नुन अर्थात् सोडियम हाम्रो शरीरको एक जरुरी भाग हो । हाम्रो शरीरलाई जति नुनको आवश्यकता हुन्छ, त्यसको ९० प्रतिशत हिस्सा टेबल साल्ट अर्थात् नुनबाटै पूरा हुन्छ ।
वैज्ञानिक भाषामा यसलाई सोडियम क्लोराइड पनि भनिन्छ । विश्व स्वास्थ्य संगठन स्वस्थ मानिसलाई नियमित पाँच ग्रामभन्दा कम नुन खाने सल्लाह दिएको छ । यो करिब–करिब एक चम्चा बराबर हो ।
तर, एक अनौपचारिक आँकडाकाअनुसार नेपाल–भारत जस्ता देशमा ११ ग्रामसम्म नुन खाने गरिएको पाइन्छ ।
कुनै पनि उमेरमा नुन धेरै खाँदा ब्लड प्रेसर बढ्न सक्छ । यसका साथै अन्य खतरा पनि छन् । मुटुको रोग, ग्यास्ट्रिक, मष्तिस्कघात, क्यान्सर जस्ता समस्या र रक्तसञ्चारमा असर समेत पर्न सक्छ । खानपानमा नुनको मात्रा कम गरेर यसबाट जोगिन सकिन्छ ।