बिर्तामोड, माघ २८ । बिर्तामोड नगरपालिकाले उत्कृष्ट कर्मचारीसहित जग्गादातालाई सम्मान गरेको छ ।
आज (आइतबार) वडा नम्बर ७ स्थित सहिद नेत्रपार्कमा आयोजित नगरपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशनका अवसरमा उत्कृष्ट कर्मचारी तथा जग्गादातालाई सम्मान गरेको हो ।
उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुने शिक्षा शाखाका अधिकृत दिनेशप्रसाद आचार्य, वडा नम्बर ९ का वडासचिव सुवासकुमार विक र बिर्तामोड नगर अस्पतालकी सिनियर अनमी ओमकुमारी गुरुङलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
नगरपालिकाले वडा नम्बर १० मा आधारभूत स्वास्थ्य केन्द्र तेलगानीलाई स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा दिने जग्गादाता श्रीप्रसाद शिवाकोटी दम्पत्तीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।
सम्मानित हुनेहरुलाई प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्मा, जिल्ला समन्वय समिति उपप्रमुख शान्ता रोक्का, नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले अबिरसहित दोसल्ला औढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
सोही कार्यक्रमका बीच सरकारी सेवानिवृत्त भएका बिर्तामोड नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख (अधिकृत स्तर छैटौँ) डिल्ली दाहाललाई विदाइ गरिएको छ ।