मेचीनगर, फागुन १ । झापाको बुद्धशान्तिमा भोलि फागुन २ गतेदेखि सुरु हुने प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदनकुमार प्रसाईंका अनुसार प्रतियोगिताको उद्घाटन संघीय संसदकी उपसभामुख इन्दिरा राना मगरले गर्ने छिन् ।
प्रतियोगिताको उद्घाटन खेलमा कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाको सामना गर्नेछ ।
बुद्धशान्ति–३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुने प्रतियोगिताका लागि खेल मैदान पनि तयारी अवस्थामा रहेको प्रसाईंले जानकारी दिए ।
झापाका १५ वटै पालिकाको सहभागिता हुने प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष प्रसाईंले बताए ।
खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।
अध्यक्ष प्रसाईंले युवाहरुलाई खेलकुदको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्न आफ्नो उद्देश्य रहने बताए । निजी लगानीमा प्रतिष्ठानले क्रिकेटको विकासका लागि पालिकास्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको प्रसाईंको भनाइ छ ।