२०८२ जेठ १ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको राष्ट्रपति रनिङ शिल्ड साविक विजेता अर्जुनधारामा हुने


बिर्तामोड, फागुन १ । आसन्न १४ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिता झापाको अर्जुनधारा नगरपालिकामा हुने भएको छ ।

यही फागुन ५ गते अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा प्रतियोगिताको उद्घाटनसँगै ७ गतेसम्म शनिश्चरे माविलगायत अर्जुनधारकै विभिन्न विद्यालयका मैदानमा प्रतियोगिता सञ्चालन गर्ने गरी तयारी गरिएको झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तहमा यसअघि छनोट प्रतियोगिता सम्पन्न भइसकेको र ती प्रतियोगिताबाट छनोट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

जिल्लाको खेलकुद गतिविधिलाई जिल्लाका सबै क्षेत्रमा पुर्याउने र स्थानीय तहहरुलाई पनि खेलकुदप्रति अपनत्व र जिम्मेवार बनाउने उद्देश्यले पनि यस वर्षको प्रतियोगिता अर्जुनधारा नगरपालिकामा गर्न लागिएको अध्यक्ष भण्डारीको भनाइ छ ।

खेलकुद गतिविधिमा सधैँ अग्रपंक्तिमा रहँदै आएको अर्जुनधारा नगरपालिका १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको च्याम्पियन पालिका पनि हो ।

एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरु सञ्चालन गरिने प्रतियोगितामा ४१८ पदकका लागि जिल्लाभरिका १८ वर्षमुनिका छात्र तथा छात्रा गरी लगभग एक हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए ।

जिल्लामा छनोट हुने खेलाडीले कोशी प्रदेशस्तरीय छनोट प्रतियोगितामा झापाको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अध्यक्ष भण्डारीले जानकारी दिए ।

Adv footer