बिर्तामोड, फागुन ५ । १४ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिता आजदेखि झापाको अर्जुनधारा नगरपालिकामा सुरु भएको छ ।
अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा आयोजित एक समारोहका बीच प्रतियोगिताको उद्घाटन कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले गरे ।
आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रममा १५ वटै पालिकाबाट सहभागी खेलाडी छात्रछात्राले मार्चपास गरेका थिए ।
समितिका सदस्य चेतामणि खनालले सञ्चालन गरेको उद्घाटन समारोहमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देन, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । समारोहमा शनिश्चरे माविका छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।
सोही अवसरमा जिल्ला खेलकुद विकास समिति झापाले अर्जुनधारा नगरपालिकालाई सम्मान गरेको थियो । १३ औँ राष्ट्रपति रनिङ शिल्डको विजेता तथा नगरभित्र खेलकुदलाई प्राथमिकतामा राखेर खेलकुद गतिविधि सञ्चालन गरेको भन्दै समितिले अर्जुनधारा नगरपालिकालाई सम्मान गरेको थियो ।
यसैबीच, आर्चरीमा भाग लिन इराक जान लागेकी समिति सदस्य गंगा तुम्बापोलाई मन्त्री राईले खादा लगाएर सफलताका लागि शुभकामना दिएका थिए ।
एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ विधाका विभिन्न इभेन्टका खेलहरु सञ्चालन गरिने प्रतियोगितामा ४१८ पदकका लागि जिल्लाभरिका १८ वर्षमुनिका पुरुष तथा महिला गरी लगभग एक हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गरिरहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए ।