बिर्तामोड, फागुन ६ । प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत गौरादह नगरपालिका र मेचीनगर नगरपालिका सेमिफाइनल प्रवेश गरेका छन् ।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेलमा गौरादहले गौरीगञ्ज गाउँपालिकालाई ३३ रनले पराजित गरेको हो । पहिले ब्याटिङ रोजेको गौरादहले २० ओभरमा १५४ रन बनाएको थियो ।
१५५ रनको लक्ष्य पछ्याएको गौरीगञ्जले १० विकेट गुमाउँदै १२१ रन मात्र बनायो । गौरीगञ्जका लागि ५१ बलमा ८१ रन बनाएका विशाल थापा प्लेयर अफ दि म्याच घोषित भए ।
त्यस्तै, दोस्रो क्वार्टर फाइनल खेलमा मेचीनगरले कनकाई नगरपालिकालाई ९१ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ रोजेको मेचीनगरले १९.१ ओभरमा १० विकेट गुमाउँदै १६६ रन बनाएको थियो । १६७ रनको लक्ष्य पछ्याएको कनकाईले १० विकेट गुमाउँदै ७५ रन बनाएको थियो ।
३ विकेट लिँदै ३२ रन बनाएका मेचीनगरका आसिक राना मगर प्लेयर अफ दि म्याच घोषित भए ।
झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले बताए ।
खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।