बिर्तामोड, फागुन ११ । झापा प्रहरी फागुन ३ गते मोटरसाइकल चोरीका गिरोहमा आबद्ध एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका–६ घर भई हाल झापा बिर्तामोड–६ बुट्टाबारी बस्ने २७ वर्षीय योगेश मगर भन्ने बालकुमार मगरलाई पक्राउ गरेको छ ।
बिर्तामोडबाट चोरी भएको प्र.–१–०१–०१२ प ३५४७ नम्बर उल्लेख भएको २२० सिसीको कालो रातो पल्सर मोटरसाइकल बिक्री गर्न जाँदै गरेको अवस्थामा मगरलाई पाँचथर हिलिहाङ–५ बाट पक्राउ गरी झापा ल्याएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।
प्रहरीले उनलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । मगर पक्राउ परेसँगै उनले बिक्री गरेको आठवटा मोटरसाइकल समेत फेला परेको छ ।
सबै मोटरसाइकल ताप्लेजुङ जिल्लाको विभिन्न स्थानबाट फेला परेको एसपी केसीले बताए । गिरोहमा आबद्ध अझै तीनजना फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको उनले बताए ।
झापाबाट चोरी भएका मोटरसाइकल ताप्लेजुङ लगेर ३५ देखि ५० हजार रुपैयाँसम्म बिक्री मगर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता तथा ढुण्डिराज गिरीले जानकारी दिए ।
त्यहाँ मोटरसाइकल बिक्री गरेर मगरले रकम बिर्तामोडको आइएमइमा पठाउने र गिरोहका अन्य व्यक्तिले निकाल्ने अनुसन्धानबाट खुलेको गिरीको भनाइ छ ।
अहिलेसम्म प्रहरीमा एक सयभन्दा बढी मोटरसाइकल हराएको र चोरी भएको जाहेरी परेको बताए ।
चोरी गरिएका मोटरसाइकलको नम्बर प्लेट मेटाएर पहाडी जिल्लामा पु¥याएर बिक्री गर्ने गिरोह सक्रिय रहेको उनको भनाइ छ । फेला परेको मोटरसाइकलहरू प्र.–१–०३–००५ प ८०४३ नम्बरको २२० सिसीको कालो पल्सर, प्र.–१–०१–०१६ प १२६ नम्बरको २२० सिसीको कालो निलो पल्सर, प्र.–१–०२–०४८ प ३२३७ नम्बरको २२० सिसीको रातो सेतो पल्सर, नम्बर प्लेट उल्लेख नभएको २२० सिसीको कालो रातो पल्सर, को. ३९ प १८८४ नम्बरको १५० सिसीको कालो निलो पल्सर, ०१४ प ३१ नम्बर उल्लेख भएको एनएस र बा. ७२ प १९९१ नम्बर भएको १५० सिसीको रहेको प्रहरीले जनाएको छ ।