
बिर्तामोड, चैत ९ । छोटो समयका लागि रकम दिएर बढी ब्याज (मिटरब्याज) लिनेहरुमाथि झापामा कानुनी कारबाही सुरु गरिएको छ ।
झापामा मिटरब्याजसम्बन्धी ८२ वटा निवेदन र जाहेरी दर्ता भएकोमा हालसम्म ३० वटा निवेदनउपर सहमति भएको छ । १४ वटा मुद्दा चलेको छ ।
त्यस्तै, विपक्षीहरु उपस्थित नभएको १४ वटा, अन्य जिल्ला ठेगाना भई मानिस उपस्थित नभएको एउटा, मुद्दा प्रक्रियामा जाने ६ वटा, निवेदक उपस्थित नभएको ३ वटा र सहमति प्रक्रियामा रहेको ६ वटा रहेको झापाका निमित्त सूचना अधिकारी ढुण्डीराज गिरीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकमा दर्ता भएका मिटरब्याजसम्बन्धी निवेदन र जाहेरीउपर कारबाही सुरु गरिएको हो ।
झापामा जिल्ला प्रशासन कार्यालयमा ६८ वटा निवेदन, जिल्ला प्रहरी कार्यालयमा ६ वटा निवेदन र ६ वटै जाहेरी र इलाका प्रहरी कार्यालय दमकमा २ वटा निवेदन परेको छ ।
ती निवेदन र जाहेरीमाथि कार्यान्वयन थालिसकेको प्रहरी निरीक्षक गिरीले बताए । जिल्ला प्रशासन कार्यालयले मिटरब्याज पीडितहरुको सहजताका लागि सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि चापागाईंलाई फोकल पर्सन तोकेको छ ।
केही दिनअघि बिर्तामोड-७ गरामनी निवासी दीर्घ भनिने पृथ्वी ओली पक्राउ परेका थिए । मिटरब्याज पीडितहरूले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएसँगै प्रहरीले पहिलोपटक मिटरब्याजी आरोपी ओलीलाई पक्राउ गरेको हो ।