२०८१ मंसिर ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

परीक्षा कसरी दिने ? शिक्षक, अभिभावक र विद्यार्थीलाई केही ‘टिप्स’


बिर्तामोड, चैत १४ । विद्यार्थीको सिकाइ र बुझाइको मापन गर्न, उपलब्धि देखाउन, लक्ष्य प्राप्तिमा सहयोग गर्नका लागि परीक्षा लिने गरिन्छ। हरेक विद्यार्थीको एउटै लक्ष्य हुन्छ कि परीक्षा कसरी पास गर्ने, कसरी राम्रो अंक ल्याउने । यही कुरामा जोड दिन्छन् अभिभावक र शिक्षकले पनि ।

नेपालभरिका सबै विद्यालयहरूमा यही चैत महिनाको पहिलो वा दोस्रो सातामा अन्तिम परीक्षा सुरु भएको छ वा हुँदैछ । हाम्रो मूल्यांकन प्रणालीअनुसार कक्षा ३ सम्म सम्पूर्ण रूपमा आन्तरिक मूल्यांकन गर्ने, कक्षा ४ देखि कक्षा ८ सम्म आन्तरिक र बाह्य मूल्याङ्कन ५०–५० प्रतिशत तथा कक्षा ९ र १० मा आन्तरिक २५ प्रतिशत र बाह्य ७५ प्रतिशत गरी मूल्यांकन गर्नुपर्ने निर्दिष्ट गरिएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसइइ) यही चैत १५ गतेबाट सुरू हुँदैछ, जसमा झन्डै ५ लाख विद्यार्थी सहभागी हुँदैछन् । यस परीक्षाको लागि ५ लाख ४ हजार ४१४ जनाले परीक्षाको फारम भरेका छन् ।

हाम्रा बालबालिकाहरूलाई जीवनमा हालसम्म (करिब १२ वर्ष) धेरै परीक्षामा सहभागी भएको र आगामी दिनमा थुप्रै कठिन परीक्षा दिनुपर्ने कुरा बोध गराउन जरूरी छ । उनीहरूलाई तनाव मुक्त गराएर परीक्षा हाउगुजी होइन, बरु सिकाइको मूल्यांकन हो भन्ने कुरा स्पष्ट बनाउन सकेमा उनीहरूले सफलता प्राप्त गर्न सक्छन् ।

बालबालिकाले ध्यान दिनुपर्ने कुरा

  • परीक्षालाई सामान्य रूपमा लिने वा परीक्षासँग नडराउने, परीक्षाबारे अनावश्यक तनाव नलिने
  • पर्याप्त पानी पिउने तथा विभिन्न मौसमी फलफूल खाने
  • आलस्यता र कब्जियतबाट बच्न जंकफुडबाट टाढा रहने
  • पढ्दै गर्दा समय–समयमा ब्रेक लिने। शरीरलाई सक्रिय र गतिशील बनाउने तथा गीत सुन्ने
  • सम्भव भएसम्म साथीसँग बसेर पढ्ने तथा पढेको कुरा शेयर गर्ने
  • परीक्षा तयारी गर्दा सकेसम्म लेखेर, सूची तयार पारेर वा चित्र (डायग्राम) बनाएर पढ्ने
  • परीक्षाका लागि आवश्यक पर्ने शैक्षिक सामग्री (कलम, ज्यामिति बक्स, स्केल लगायत) को उचित व्यवस्थापन गर्ने
  • परीक्षा सुरू हुनुभन्दा अघिल्लो दिन अभिभावक वा साथीसँग परीक्षा केन्द्र जाने तथा उक्त केन्द्र कहाँ छ र आफ्नो बासस्थानबाट कति समय लाग्छ भनी जानकारी लिने
  • पहिलो दिन आधा घण्टा अगाडि र अरू दिन कम्तीमा १५ मिनेट अगाडि परीक्षा केन्द्रमा पुग्ने
  • कहिलेकाहीं घरबाट परीक्षा केन्द्र जाँदै गर्दा प्रवेशपत्र बिर्सिएर घर फर्कंदा हतार र तनावमा दुर्घटना हुनसक्ने वा मानसिक दबाब हुनेभएकोले परीक्षा केन्द्रमा पुगेर अभिभावक वा विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गर्ने
  • परीक्षा हलमा मुस्कान सहित निरीक्षकलाई नमस्कार वा कुनै अभिवादसहित प्रवेश गर्ने
  • उत्तरपुस्तिकामा सिम्बोल नम्बर (अंक र अक्षरमा), मिति, विषय, परीक्षा केन्द्र लगायत आवश्यक विवरण स्पष्टसँग लेख्ने
  • प्रश्नपत्र राम्रोसँग पढ्ने र सुरूमा आफूलाई सजिलो लाग्ने प्रश्नको उत्तर लेख्ने
  • परीक्षा हलमा परीक्षार्थी साथीहरूलाई अनावश्यक हैरानी नगर्ने
  • मर्यादित र शालीन ढंगले परीक्षामा सहभागी हुने
  • नबुझेका प्रश्नहरू निर्धक्कसँग निरीक्षकसँग सोध्ने
  • सकेसम्म सबै प्रश्नको उत्तर लेख्न कोशिश गर्ने अर्थात् कुनै पनि प्रश्न नछोड्ने
  • उत्तर लेख्ने क्रममा कुनै प्रश्नको उत्तर अस्पष्ट भएमा विषय शिक्षकले कक्षामा पढाउँदै गरेको सम्झने र उत्तर लेख्ने कोसिस गर्ने
  • प्रश्नपत्रमा उल्लिखित निर्देशन पूर्ण रूपमा पालना गर्ने।

अभिभावकले ध्यान दिनुपर्ने कुरा

  • बालबालिकाहरूको व्यक्तिगत स्वास्थ्यमा विशेष ध्यान दिने
  • पौष्टिक आहार वा भोजनको प्रबन्ध गर्ने
  • बेलाबेलामा उनीहरूको सिकाइमा सहयोग हुने गरी छलफल र अन्तरक्रिया गर्ने
  • सकारात्मक कुरा भनेर पढाइमा प्रेरित गर्ने
  • तिमीले पहिलाभन्दा मिहिनेत गरेका छौ है भनेर पढाइमा उत्प्रेरित गर्ने
  • समयमा उठ्न र पढ्नका लागि प्रेरित गर्ने तथा सहयोग गर्ने
  • बालबालिकालाई आवश्यक पर्ने शैक्षिक सामग्रीको उचित व्यवस्थापन गरिदिने
  • अन्य समयमा भन्दा बढी सद्भाव, माया र हेरविचार पुर्‍याउने
  • बालबालिकाको लागि अन्य समयमा भन्दा बढी वा आवश्यक समय दिने।
  • पढाइमा व्यस्त हुँदा उनीहरूको अगाडि आफू मोबाइल तथा टेलिभिजनमा व्यस्त नहुने।

विद्यालय प्रशासन तथा शिक्षकहरूले ध्यान दिनुपर्ने कुरा

  • बालबालिकालाई ‘अत्यन्त कमजोर छौ, सक्दैनौ वा सम्भव नै छैन’ जस्ता शब्दावली प्रयोग गरी निरुत्साहित नगर्ने
  • बालबालिकालाई सकारात्मक तरिकाले पढाइमा प्रेरित गर्ने
  • उनीहरूका लागि आवश्यक सूचना स्पष्टसँग दिने
  • कतिपय अभिभावकले समयमा शुल्क नतिरेका कारण विद्यालयमा प्रशासन वा शिक्षकले बालबालिकाहरूलाई अनावश्यक दबाब दिने गरेको समेत सुनिन्छ। त्यस्तो व्यवहार नगरी अभिभावकसँग समन्वय गर्ने
  • सकारात्मक सोचका साथ उनीहरूको सिकाइमा प्रेरित गर्ने
  • परीक्षार्थीहरूको प्रवेशपत्रको एक प्रति फोटोकपी विद्यालयमा राख्ने र एक प्रति विद्यार्थीलाई राख्न लगाउने
  • परीक्षाको दिन कम्तीमा आधा घण्टा अगाडि परीक्षा केन्द्र पुग्ने र परीक्षार्थी बालबालिकालाई भेटेर हौसला दिने ।

-अनलाइनखबरबाट सम्पादन गरी साभार गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer