२०८२ असार २ सोमबार
Jhapa Today
Adv top

बिर्तामोडमा कुष्ठरोगीको संख्या १११


बिर्तामोड, चैत १४ । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १११ जना पुगेको छ । सबैभन्दा बढी कुष्ठरोगी वडा नम्बर ३ मा १९ जना रहेका छन् ।

त्यस्तै, वडा नम्बर १ मा १३ जना, वडा नम्बर २ मा चारजना, वडा नम्बर ४ मा १४ जना, वडा नम्बर ५ मा १६ जना, वडा नम्बर ६ मा छजना, वडा नम्बर ७ मा सातजना, वडा नम्बर ८ मा १३ जना, वडा नम्बर ९ मा ६ जना र वडा नम्बर १० मा १३ जना रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख रमेश बाराकोटीले विगत ५ वर्षमा बिर्तामोडका १० वटै वडामा पहिचान भएका कुष्ठरोगीको संख्या १११ जना पुगेको जानकारी दिए ।

आज बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कुष्ठरोग खोजपड्ताल तथा रोग नियन्त्रण सम्बन्धी सरोकारवालासँग अभिमुखीकरण कार्यक्रममा कुष्ठरोगीको संख्याका बारेमा जानकारी गराइएको हो ।

कार्यालय प्रमुख बाराकोटीले कुष्ठरोगीले औषधी पुरा मात्रामा सेवन गरे अरुलाई सार्न र अङ्गभङ्ग हुनबाट बच्ने बताए ।

बिर्तामोडलाई कुष्ठरोगमुक्त पालिका बनाउने अभियानअन्तर्गत प्रथम चरणमा वडा नम्बर १, ४, ५, ६ र ८ लाई प्राथमिकता दिएर अभिमुखीकरण कार्यक्रम गरिएको बिर्तामोडका कुष्ठरोग फोकल पर्सन दिपक सापकोटाले जानकारी दिए ।

अभिमुखिकरण कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, नगरका प्रवक्ता तथा वडा अध्यक्ष अग्निप्रसाद पाण्डे, राहुल शर्मा, रोहित प्रसाईं, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, नगर अस्पतालका प्रमुख डा. सुनिल अधिकारी, कार्यपालिका सदस्य, वडा सदस्य लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

Adv footer