बिर्तामोड, चैत १८ । झापाको कनकाई नगरपालिका–८ बिरिङ पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकजना बालकको मृत्यु भएको छ ।
हिजो दिउँसो ४ः३० बजे लक्ष्मीपुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश–१–०१–०१२ प ५७७० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक झापा मेचीनगर–९ का ३८ वर्षीय गोपाल महत, मोटरसाइकलमा पछाडि बसेकी कमल गाँउपालिका–३ की २७ वर्षीया पूर्णिमा भण्डारी उनका छोराहरु ८ वर्षीय प्रशान्त भण्डारी र ८ महिनाको प्रशान भण्डारी घाइते भएका थिए ।
दुर्घटनामा घाइते भएका ८ वर्षीय प्रशान्त भण्डारीको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।