बिर्तामोड, चैत १८ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतबाट आफूलाई न्याय मिलेको प्रतिक्रिया दिएका छन् ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले राज्यले १३ वर्षदेखि बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिएर तड्पाइरहेकोमा अहिले आएर सर्वोच्चले न्याय दिएको बताए ।
‘हामी सबैको पहलमा सर्वोच्च अदालतबाट १३ वर्षपछि अन्याय परेको हामीलाई न्याय मिलेको छ । एलओआइ दिएर पनि १३ वर्षदेखि हामीलाई तड्पाइराखेको थियो’, उनले भने, ‘न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ । न्यायपालिकालाई धन्यवाद दिन चाहन्छु ।’
केही दिनअघि सर्वोच्च अदालतले प्रसाईंको रिटको पक्षमा आदेश सुनाएसँगै झापा बिर्तामोडको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन लिन बाटो खुलेको थियो ।