२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

पत्रकार भण्डारी र एम्बुलेन्स चालक खड्का पुरस्कृत


मेचीनगर, चैत २१ । मेची उद्योग वाणिज्य संघले यो वर्षको ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट राष्ट्रिय समाचार समिति झापाकी समाचारदाता अम्बिका भण्डारीलाई सम्मान गरेको छ ।

आज धुलाबारीमा संघको १९ औँ साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा पत्रकार भण्डारीलाई नगद २१ हजार राशि र सम्मानपत्रले पुरस्कृत गरिएको हो ।

कोशी उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउतले सम्मानपत्र प्रदान गरेको कार्यक्रममा आर्थिक पत्रकारिता क्षेत्रमा पत्रकारी भण्डारीले पुर्याएको योगदानको चर्चा गरिएको थियो ।

राससको झापा कार्यालय प्रमुखको समेत जिम्मेवारी सम्हालेकी भण्डारी दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । लोकतन्त्र पोस्ट, जनसंसद् र पूर्वाञ्चल दैनिकमा उनी कार्यरत थिइन् ।

संघले २०६९ सालदेखि आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । पहिलो पुरस्कार भद्रपुरका अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रीले पाएका थिए ।

सोही कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा एम्बुलेन्स चालक मीनबहादुर खड्का (कुमार) लाई नगद १५ हजारसहित सम्मानपत्रले पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रमु अतिथि राउत, बागमती प्रदेशका पूर्वप्रदेशप्रमुख विष्णु प्रसाईं, मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, नरेन्द्र खड्का, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, मेचीनगर नगरपालिका पूर्वप्रमुख विमल आचार्य, मेचीनगर नगरपालिकाका आर्थिक शाखा प्रमुख पदमबहादुर कार्कीलायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष खेमराज प्रसाईंले संस्थाले वर्षभरि गरेका गतिविधिको बारेमा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका महासचिव दिनेश शाक्यले सञ्चालन गरेको कार्यक्रमको समापन वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले गरेका थिए ।

Adv footer