२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कुवेतमा श्रम शोषणमा परेकी मेचीनगरकी सपनाको उद्धारका लागि आग्रह


मेचीनगर, चैत २६ । वैदेशिक रोजगारीका लागि कुवेत गएकी झापाको मेचीनगर–८ की २८ वर्षीया सपना ठटालले आफूलाई रोजगारदाताले बन्धक बनाएर श्रम शोषण गरिरहेको जनाउँदै उद्धारका लागि आग्रह गरेकी छन् ।

काठमाडौँका नारायण थापा नामका एजेन्टले अल्फा नामक मेनपावर कम्पनीमार्फत मासिक ४० हजार रुपैयाँ पारिश्रमिक हुने प्रलोभन देखाएर सात महिनाअघि कुवेत पुर्याएको सपनाका पति श्यामबहादुर ठटालले बताए ।

मध्य कुवेतबाट ३२ किलोमिटर पश्चिमस्थित अल जहार सहरमा घरेलु कामदारको रुपमा पुर्याइएकी सपनाले दस दिनअघि साथीको मोबाइलमार्फत पतिसँग सम्पर्क गरी आफ्नो नाजुक अवस्थाबारे जानकारी गराउँदै जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेकी हुन् ।

सपनाजस्तै थुप्रै महिलालाई कोठामा थुनेर राख्ने गरेको र कामका लागि गाडीमा हालेर टाढासम्म पुर्याउने गरेको सपनाका पति श्यामबहादुरले पत्नीको भनाइ उद्धृत गर्दै बताए । मोबाइल खोसेर परिवार र साथीसँग सम्पर्कविहीन बनाएर श्रम शोषण गरिरहेको उनले जानकारी दिए ।

कुवेत गएपछि एकपटक ४० हजार पठाएको र त्यसपछि सम्पर्क टुटेको सपनाकी आमा कृष्णमाया परियारले बताइन् । नाताले भाउजू पर्ने पुष्पा दर्जीमार्फत एजेन्ट नारायण थापासँग सम्पर्क भएको र पुष्पा पनि हाल कुवेतमै रहेको कृष्णमायाले बताइन् ।

काठमाडौँ घर बताउने एजेन्ट नारायण थापाले पीडितलाई उद्धार गरेर नेपाल ल्याउन नौ लाख रुपैयाँ फिरौती रकम मागेको कृष्णमायाले बताइन् ।

दैनिक ज्यालादारी गरेर पेटपालन गर्दै आएको आफ्नो परिवारसँग फिरौती रकम बुझाउने कुनै सम्भावना नरहेको उनले गुनासो सुनाइन् ।

वैदेशिक रोजगारीमा जान सपना ठटालले बनाएको कागजातअनुसार उनको २०८० भदौ १८ गते कुवेतको भिसा जारी भएको छ भने त्यसको वैधता चार महिना अर्थात २०८० पुस १८ गतेसम्म मात्र भएको पाइएको छ ।

सपनाको भिसा कागजातअनुसार उनलाई घरेलु कामदारको रुपमा कुवेतको मोदार रियल इस्टेटमा लगेको देखिन्छ । त्यहाँको ठेगाना अल जहरा ब्लक–८, सडक–१६० भएको पनि कागजातमा उल्लेख छ ।

छोटो अवधिको भिसा बनाएर विदेशमा लैजाने र भिसाको म्याद गुज्रिएपछि अवैध रुपमा काम लगाएर श्रम शोषण गर्ने गिरोहको फन्दामा पीडित महिला परेको हुनसक्ने आशंका छ । विदेश लैजाँदा लागेको सबै खर्च एजेन्ट नारायण थापाले नै व्यहोरेको बताइएको छ ।

कुवेतमा बन्धक जस्तै अवस्था भोगिरहेकी सपनाको घरमा दुई छोरा छन् । सानो छोरा १४ महिनाको छ । उनका पति श्यामबहादुर ठटाल ट्र्याक्टरमा बेल्चा हान्ने मजदुरी काम गर्दै आएका छन् । आमा कृष्णमायाले छोरीको सकुशल उद्धार गरी नेपाल ल्याइदिन नेपाल सरकारसँग अनुरोध गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer