२०८१ बैशाख १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापा गाउँपालिकामा कक्षा ८ को परीक्षाफल निराशाजनक, चार विद्यालय ‘निल’


बिर्तामोड, बैशाख ६ । झापाको झापा गाउँपालिकामा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयअन्तर्गत कक्षा ८ को परीक्षाफल निराशाजनक आएको छ ।

गाउँपालिकामा सञ्चालनमा रहेकामध्ये परीक्षामा सहभागी १८ वटा विद्यालय कुनैले पनि विद्यालयबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुन सकेनन् । कक्षा ८ को परीक्षामा चारवटा सामुदायिक विद्यालयको नतिजा त शून्य छ ।

त्रिभुवन, कुवाडी, महेन्द्र र सरस्वती माविको नतिजा शून्य आएको छ । अर्थात, यी विद्यालयबाट कक्षा ८ मा विद्यार्थी उत्तीर्ण नै भएनन् ।

त्रिभुवनका ४९, कुवाडीका ४१, महेन्द्रका ३६ र सरस्वतीका २३ जना विद्यार्थीले परीक्षा दिएकोमा सबैजना अनुत्तीर्ण भएका छन् ।

त्यस्तै, दुईवटा सामुदायिक विद्यालयले १० प्रतिशतभन्दा कम नतिजा ल्याएका छन् । जनता माविका ६५ जना विद्यार्थीहरुले परीक्षा दिएकोमा ३ जना मात्र उत्तीर्ण भएका छन् भने डिल्लीराज माविका ११ जना मात्र उत्तीर्ण भएका छन्, जबकि सो विद्यालयका १३९ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

त्यस्तै, तीनवटा सामुदायिक विद्यालयले २० प्रतिशतभन्दा कम नतिजा ल्याएका छन् । जनकल्याण माविका ५१ जना विद्यार्थीले परीक्षा दिएकोमा ८ जना अर्थात १५.६८ प्रतिशत, सिमलवारी माविका २९ जना विद्यार्थीले परीक्षा दिएकोमा ४ जना अर्थात १३.७९ प्रतिशत र भृकुटी माविका ४३ जना विद्यार्थीले परीक्षा दिएकोमा ७ जना अर्थात १६.२७ प्रतिशत उत्तीर्ण भएका छन् ।

रामजानकी माविले भने ४२.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । सो विद्यालयका तर्फबाट १४ जना विद्यार्थीले परीक्षा दिएकोमा ६ जना उत्तीर्ण भएका हुन् ।

निजी विद्यालयको परीक्षाफल पनि त्यति सन्तोषजनक छैन । आठवटा विद्यालय परीक्षामा सहभागी भएकोमा चारवटाको मात्र परीक्षाफल सन्तोषजनक देखिएको छ ।

अन्य चारवटाको त्यति चित्तबुझ्दो रहेको छैन । चन्द्रज्योतिले ८९.१८ प्रतिशत, गौतमबुद्धले ८८.८८ प्रतिशत, जय पाथिभराले ८७.५ प्रतिशत र साउथ होराइजनले ८४.६१ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् ।

राम्रो नतिजा नल्याउने निजी विद्यालयहरुमा वन्डरलाइफ ३१.२२ प्रतिशत, टाइनी टट्स ४५.४२ प्रतिशत, सेन्ट जेभियर ६० प्रतिशत र लोयलाले ६२.९६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण गराउन सकेका छन् ।

झापा गाउँपालिकाको शैक्षिक स्तर खस्किएको स्वीकार गर्दै शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले यो नतिजाले शिक्षाको वास्तविक अवस्था उदांगो पारिदिएको बताए । उनले अब गाउँपालिका, विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक गम्भीर हुनुपर्ने औँल्याए ।

कक्षा ८ मा दुई विषयसम्म अनुत्तीर्ण विद्यार्थीका लागि पालिकाले ग्रेडवृद्धि परीक्षा गर्ने भएको छ । झापा गाउँपालिकामा सामुदायिक, संस्थागत र परम्परागत गरी १९ वटा विद्यालय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer