

बिर्तामोड, बैशाख ११ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि नेपालमा तातो दिन तथा तातो लहर सम्बन्धी चेतावनी जारी गरेको छ । महाशाखाले बैशाख १४ गतेसम्मको चेतावनी जारी गरेको हो ।

महाशाखाका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भूभागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको छ । तराई भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

महाशाखाका अनुसार आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार (माथि चित्र) तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहनेछ ।

तापक्रम बढ्ने भएको हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ती भूभागहरूमा बैशाख १४ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

साथै, पहाडी भूभागका उपत्यका तथा खाँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

सम्भावित असर तथा सुझावहरू
महाशाखाका अनुसार तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सोबाट बच्न निम्न उपायहरू अपनाउनुपर्छ ।

उपायहरू
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी देखानपर्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने ।
