२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

शुभसाइत सहकारीका उपाध्यक्ष कारागार चलान, अध्यक्ष श्रेष्ठ र सदस्यहरु अझै फरार


बिर्तामोड, बैशाख १९ । सयौँ बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको भद्रपुरको शुभसाइत बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तथा व्यवस्थापक सन्जोग भन्ने सन्जोक गिरीलाई झापा कारागार चलान गरिएको छ ।

बैशाख १२ गते जिल्ला न्यायाधीश रामप्रसाद पौडेलको एकल इजलासले सहकारी ठगी मुद्दामा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ (१) बमोजिम मुद्दाको पुर्पक्ष गर्न थुनामा राख्ने आदेश भएसँगै उपाध्यक्ष गिरीलाई कारागार चलान गरिएको हो ।

सहकारीका निवर्तमान अध्यक्ष तथा वर्तमान सञ्चालक समिति सदस्य दिपक खवासलाई १ लाख र सचिव कञ्चन आचार्य र कोषाध्यक्ष ज्योति बर्मनलाई जनही ५०÷५० हजार धरौटी जमानतमा तारेखमा छाडिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले २०८१ बैशाख ९ गते भद्रपुर ८ का ३३ वर्षीय सन्जोक गिरी, भद्रपुर ७ का ३२ वर्षीय दिपक खवास, हल्दिबारी ३ की ३५ वर्षीय कञ्चन आचार्य, हल्दिबारी ३ की २७ वर्षीय ज्योति बर्मन, भद्रपुर ६ का ४८ वर्षीय राजु भन्ने मदन श्रेष्ठ, हल्दिबारी ३ का मन्दिप भन्ने हेमसागर बनलाई प्रतिवादी बनाई सहकारी रकम हिनामिना गरी ठगी गरेको मुद्दा दर्ता गरेको थियो ।

बचतकर्ताहरूको बचत रकम एक करोड तीन लाख ९३ हजार ८७९ रुपैयाँ हिनामिना गरी ठगी गरेकोले प्रतिवादीहरूलाई सजाय गरी पीडितहरूको बिगो भराई क्षतिपूर्ति समेत दिलाई पाउँ भनी माग दाबी गरेका थिए ।

२०८० साल फागुन १३ गते ५४ जनाले, २०८० चैत २३ गते १४५ जनाले, २०८० चैत २७ गते ४९ जनाले र २०८० चैत २९ गते २४ जनाले गरी २७२ जना सहकारीका बचतकर्ताहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।

सहकारी सञ्चालकहरूलाई जिल्ला प्रहरी कार्यालयले फागुन ३० गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरेको १३ दिनमा अर्थात चैत १३ गते प्रहरीले उपाध्यक्ष गिरी, सचिव आचार्य र सदस्य खवासलाई पक्राउ गरेको थियो ।

कोषाध्यक्ष ज्योति बर्मन स्वास्थ्यका कारण प्रहरीकै सम्पर्कमा रहेर पक्राउ नदिएपछि बचतकर्ताहरूको दबाबमा बर्मनलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

सहकारीका अध्यक्ष मदन श्रेष्ठ, सञ्चालक सदस्य हेमसागर बन र साइरस अधिकारी अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer