बिर्तामोड, बैशाख २३ । झापाको शिवसताक्षी नगरपालिका–७ को वडा कार्यालयसँग लालपानी गाउँलाई जोड्ने कनकाई माई नदीमा चार वर्ष बित्न लाग्दा पनि पुल बन्न सकेको छैन ।
६४४.२० मिटरको सस्पेन्सन ब्रिज बनाउन ठेक्का लागेको चार वर्ष पूरा हुन लाग्यो । तर, ठेकेदार कम्पनीले पुल बनाउन सकेको छैन ।
२०७९ असार मसान्तसम्म सक्नेगरी २०७७ असार ३१ गते ठेक्का लिएको पशुपति–हरिहरि जेभीले प्रगतिका नाममा दुईतिर पिलर ठड्याउनेबाहेक थप केही गरेको छैन ।
सात करोड ८१ लाख रुपैयाँ लागतको पुलको म्याद थपेको समय (आगामी असार मसान्त) सकिन पनि अढाई महिना मात्रै छ ।
म्याद थपेको अवधिमा समेत कुनै काम भएको छैन । वडा अध्यक्ष भवानीविक्रम चेम्जोङका अनुसार लालपानीका करिब तीन सय घरधुरी चन्द्रडाँगीस्थित वडा कार्यालय पुग्न हिउँदमा बाँसको पुलको भर पर्छन्, बर्खामा त उर्लिएको माईले पूर्ण रूपमा सम्बन्ध विच्छेद नै गराउँछ ।