२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

बिर्तामोडको चिया विकास निगम र विद्युत प्रधिकरणका तत्कालीन लेखापालविरुद्ध अख्तियारमा मुद्दा


बिर्तामोड, बैशाख २८ । नेपाल चिया विकास निगम लिमिटेड बिर्तामोड झापाका तत्कालीन वरिष्ठ लेखापाल सञ्जय बिलोटियासहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

बिलोटियासहित तत्कालीन लेखापाल मनीषकुमार कर्ण, तत्कालीन अफिस क्लर्क राजु भन्ने गुणराज श्रेष्ठ र नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रका तत्कालीन लेखापाल वेदबहादुर रानाको आपसी मिलेमतोमा भ्रष्टाचार भएको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।

नेपाल चिया विकास निगम बिर्तामोड झापाबाट आर्थिक वर्ष २०६९/०७० देखि २०७२/०७३ सम्मको विद्युत महसुल तिर्दा विद्युत प्राधिकरणबाट जारी वास्तविक बिल रकम जम्मा एक करोड ९३ लाख ६५ हजार ६५१ रुपैयाँ भुक्तानी गर्नुपर्नेमा वास्तविक भए गरेकोभन्दा बढीको नक्कली बिल भर्पाइ पेस गरी दुई करोड ३३ लाख ५५ हजार ३२९ रुपैयाँ रकम भुक्तानी लिएको तथा लिन लगाएको आरोप लागेको प्रवक्ता नरहरि घिमिरेले बताए ।

जसबाट चिया विकासबाट ३९ लाख ८९ हजार ६७७ रुपैयाँ बढी भुक्तानी लिई, लिन लगाई निजले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ बमोजिमको कसुर देखिएको आयोगले जनाएको छ ।

सो रकममध्ये सात लाख ३७ हजार ३०८ रुपैयाँ असुल भइसकेको देखिएकोले सो रकम घटाई ३२ लाख ५२ हजार ३६८ रुपैयाँ असुल हुने माग दाबी लिई शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Adv footer